
राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौं-तराई-मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३०.९६ प्रतिशत भौतिक र ३१.५७ प्रतिशत वित्तीय प्रगति भएको छ ।
आयोजनाको करिब ९५ प्रतिशत प्याकेज कार्यान्वयन तथा खरिद प्रक्रियामा गइसकेको छ । खरिद प्रक्रियामा गइसकेका काममा मुख्यगरी सुरुङमार्ग र पुल निर्माणको काम धमाधम भइरहेका छन् । अहिले निर्माणाधीन तीन सुरुङमार्गको कुल लम्बाइ ६.४१५ किलोमिटरमध्ये ४.३२५ किलोमिटर अर्थात् ६७.४३ प्रतिशत खन्ने काम सकिएको छ । यी तीन वटा सुरूङ आगामी वर्षको दसैँसम्म ‘ब्रेक थ्रु’ हुने बताइएको छ ।
लेनडाँडा सुरुङमार्ग आगामी वर्ष वैशाखभित्र, धेद्रे सुरुङमार्ग जेठभित्र र महादेवटार सुरुङमार्ग आगामी वर्ष असोज–कात्तिकभित्र ‘ब्रेक थ्रु’ गरिसक्ने गरी काम भइरहेको छ । एउटा सुरुङमार्गमा हरेक दिन औसत तीन मिटर हाराहारी खन्ने काम भइरहेको बताइएको छ ।














