Logo
Logo

अख्तियारमा वसन्त चौधरीको बयान


12.5k
Shares

काठमाडौं । नेपालको एकमात्र खर्बपति व्यापारी विनोद चौधरीलाई के नपुग्दो छ र ? बाहिरबाट हेर्दा उनीजस्तो सम्पन्न, सुखी परिवार अरु सायदै देखिएला । तर, जति भए पनि नपुग्ने, पैसा र सम्पत्ति कमाउन जे–जस्तो कुकर्म गर्न पनि पछाडि नपर्ने प्रवृत्तिले विनोद चौधरी भागीभागी हिँड्नुपर्ने अवस्था आएको छ ।

त्यति मात्र होइन, उनकै कारण कान्छा भाइ अरुण चौधरी बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिनामा जेल परे । जिल्ला अदालतका न्यायाधीशसँग सेटिङ मिलाएर अरुण चौधरी उम्किए पनि उनीमाथि काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा चलिरहेको छ ।

त्यस्तै, अर्का भाइ वसन्त चौधरी पनि दुहबीको जग्गा काण्डमा मुछिएका छन् । वसन्त चौधरीले आफ्ना पिता लुनकरण दास र माता गंगादेवी चौधरीको नाममा च्यारिटी अस्पताल खोल्न ११ कठ्ठा सरकारी जमिन हत्याएका थिए । २०५० सालमा आफ्ना पिता र माताको नाममा अस्पताल खोल्ने भनेर हत्याएको जमिन अहिले त्यत्तिकै फालिएको छ । न चौधरीले अस्पताल खोलेर गाउँका जनतालाई सेवा दिए, न त उक्त जग्गा सरकारलाई फिर्ता नै ।

तत्कालीन शासकहरुलाई प्रलोभनमा पारेर जग्गा खाने नियतले उक्त जग्गा हडपिएको थियो । तत्कालीन स्थानीय विकासमन्त्री कमल थापाको निर्देशनमा उक्त जग्गा लुनकरणदास, गंगादेवी चौधरी च्यारिटी अस्पताललाई दिइएको भनिए पनि मन्त्रिस्तरीय निर्णय अहिलेसम्म फेला पार्न सकिएको छैन । यस प्रकरणमा तत्कालीन सचिव भोला चालिसे र विश्वराज रेग्मीको नाम जोडिएको छ ।

समाचार स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वसन्त चौधरीसँग बयान लिइसकेको छ । शक्ति र पैसाको आडमा सरकारी सम्पत्ति हडपिएको आरोपमा वसन्त चौधरीमाथि पनि मुद्दा चल्ने बताइन्छ । काठमाडौंमा सार्वजनिक जग्गा अतिक्रमण गरेर नर्भिक अस्पताल खोल्ने वसन्त चौधरीले दुहबीमा आफ्ना बुवा, आमाको नाममा अस्पताल खोल्न सरकारी जमिनमै आँखा गाड्नुपर्ने थिएन । चौधरीले चाहेको भए आफैँले जमिन किनेर अस्पताल खोल्न सक्थे । तर, सरकारी जग्गा हडप्ने नियतले आफ्नो बुवाआमाको इज्जतै जाने गरी १० कठ्ठा जमिन हत्याउँदा आज जेल जानुपर्ने अवस्था आएको छ ।

त्यसो त लुनकरण–गंगादेवी चौधरीका जेठा छोरा विनोद चौधरीले चाहेको भए आफ्ना मातापिताको नाममा आफैँले जमिन किनेर एक, दुई अर्बको लगानीमा च्यारिटी अस्पताल खोल्न सक्थे । तर, दुर्भाग्य छोराहरुको कारण दिवंगत पिता लुनकरणदास र माता गंगादेवी चौधरीको समेत आज बदनाम भएको छ । कुनै पनि काम गर्नलाई नियत ठिक हुनुपर्छ । गलत नियतले गरिएका हरेक काम विवादित हुन्छन् ।

त्यस्तै विनोद चौधरी बाँसबारीको जग्गामा मात्र होइन, बाँसबारी छालाजुत्ता कारखानाको बाराको जग्गामा पनि मुछिएका छन् । कीर्ते गरेर जग्गा हडप्न पल्केका चौधरीले ल्युब आयलको जग्गा हडप्ने असफल प्रयास गरेका थिए । त्यसैगरी युनाइटेड मिशनको थापाथलीको जग्गा र पुल्चोक युएन अगाडिको जग्गा विवादमा पनि चौधरी मुछिएका छन् ।

प्रतिक्रिया दिनुहोस्