Logo
Logo

एमालेले माग्यो स्वास्थ्यमन्त्री र यातायातमन्त्रीको राजीनामा


1.5k
Shares

काठमाडौं । नेकपा एमालेले विवादमा मुछिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ ।

बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले सञ्चारसम्बन्धी उपकरण टेरामक्स खरिद काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र अन्य विभिन्न विवादमा मुछिएका मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेको हो ।

‘यो बैठक तस्करी र भ्रष्टाचारलाई संरक्षण गर्ने सरकार र शासन सञ्चालनमा उसको द्वैध चरित्रको विरोध गर्दछ । टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विभिन्न विवादमा मुछिएका मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्न माग गर्दछ’, एमालेको बैठकको निर्णयमा भनिएको छ ।

हालका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत सञ्चार मन्त्री हुँदा गरेको निर्णयको आधारमा टेरामक्स खरिद प्रकरणमा जोडिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २३ माघमा मन्त्री बस्नेतसँग टेरामक्स खरिद प्रकरणका विषयमा बयान लिएको थियो ।

त्यस्तै १३ पुसमा कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै युवाहरुले गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटना जाँचबुझका लागि गठित आयोगले उक्त घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको छ ।

विवादमा मुछिँदा पनि मन्त्रीहरुले नैतिकता नदेखाएर खुलेआम पदको दुरुपयोग गरिरहेको भन्दै एमालेले सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टन्टमा परिणत भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्