Logo
Logo

एमाले कैलालीमा तीन प्रतिस्पर्धी, बल्ल सुरु भयो मतदान



धनगढी । नेकपा एमाले कैलाली जिल्ला अधिवेशन अन्तर्गत आज मतदान भइरहेको छ । जिल्लाको नेतृत्व चयनका लागि अधिवेशन उद्घाटन भएको छैटौँ दिनमा आज बल्ल मतदान सुरु भएको हो । निर्वाचन कमिटीका अनुसार पौने ९ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म चल्ने छ ।

पार्टीभित्रको चरम गुटबन्दी, असमझदारीका कारण ढिलो गरी मतदान सुरु भएको हो । प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले बिहीबार अनिश्चितकालका लागि सारिएको मतदान आज गरिएको बताए ।

जिल्ला नेतृत्वका लागि तीनवटा प्यानल चुनावी मैदानमा छन् । निर्वाचन कार्यालयले प्रकाशित गरेको उम्मेदवारको नामावलीअनुसार वर्तमान कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, वर्तमान सचिव डेजी पाण्डेय र यज्ञराज ढुंगानाबिच प्रतिस्पर्धा हुँदै छ ।

यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिकै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । उनले अधिवेशन उद्घाटन गरेका रातभर सहमति जुटाउन प्रयास गरेका थिए । तर, तीनैजना प्रतिस्पर्धीले अडान नछाडेपछि मतदान प्रक्रियामा गएको हो ।

प्रतिक्रिया दिनुहोस्