Logo
Logo

देशको सम्पत्ति लुट्ने कसैलाई छाडिँदैन : गृहमन्त्री


567
Shares

नेपालगञ्ज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारले छोटो समयमै देश र जनताका लागि उदाहरणीय काम गरेका दाबी गरेका छन् ।

शुक्रबार नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिले नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, आर्थिक अवस्थामा सुधार र सामाजिक रुपान्तरणसँगै विकास निर्माणका काममा सरकारले उल्लेखनीय कार्य गरेको बताएका हुन् ।

सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न अझैपनि ठूलठूला कार्य गर्ने प्रतिबद्धता जनाउँदै उनले भ्रष्टाचार र देशको सम्पत्ति लुट्ने कार्यमा संलग्न कसैलाई नछाडिने बताए ।

‘सरकारले सुरु गरेका सुशासनका काम पूरा गर्न कुनैपनि दबाब र हस्तक्षेपका अगाडि झुक्ने छैन’ उनले भने, ‘गलत कार्यमा संलग्न मानिस जुनसुकै ओहोदा वा दलको भएपनि कानुनी दायरामा ल्याइनेछ ।’ उनले नेपाली कांग्रेससँगको वर्तमान सत्ता गठबन्धन पूरै अवधिका लागि जारी रहने दाबी गरे ।

गृहमन्त्री श्रेष्ठले देशको आर्थिक अवस्थामा समेत छोटो समयमै धेरै सुधारका संकेत देखिएको भन्दै प्रधानमन्त्री प्रचण्डले बढीभन्दा बढी आर्थिक क्रियाकलाप र गतिविधि गर्न सकिने गरि बजेट ल्याउनेबारे छलफल गरिरहेको जानकारी दिए ।

माओवादी उपाध्यक्षसमेत रहेका उनले सरकारलाई सफल बनाउन पार्टी पनि बलियो र चलायमान हुनु आवश्यक भएको भन्दै नेता तथा कार्यकर्तालाई गुटबन्दीमा नलाग्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्