
ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका– २ आम्बेगुदिनमा माथिबाट झरेको ढुंगा लागेर एकजनाको मृत्यु भएको छ ।
आम्बेगुदिनको बारुन्दिनटोलमा घोरेटो बाटो बनाउने क्रममा माथिबाट झरेको ढुंगा लागेर ५६ वर्षका कर्णबहादुर कुँवरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी राजन लिम्बूले कर्णबहादुरको बाटो बनाउने क्रममा झरेको ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएकोे बताए । डिएसपी लिम्बूले शुक्रबार ११ बजेतिर उक्त घटना भएको र थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली पठाएकोसमेत जानकारी दिए ।
घटनाको प्रकृति हेरी थप अनुसन्धान अगाडि बढाउनेसमेत उनले बताए । मृतक कुँवरको लासलाई पोस्टमार्टमका लागि तेल्लोक स्वास्थ्य केन्द्रमा लगिनेसमेत बताइएको छ ।














