Logo
Logo

बच्चा चोरीको आरोपीले भनिन्- जंगलमा भेटेकी हुँ



काठमाडौं । थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी दैलेखकी मनीषा भनिने मनकुमारी सिंहले बच्चा आफूले जंगलमा भेटेको प्रहरीसँग बयानमा बताएकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेपछि सुरुमा सिंहले आरोप अस्वीकार गरेकी थिइन् । अनुसन्धान अधिकृतहरूसँग उनले बयानमा भनिन्, ‘जंगलमा भेटेर ल्याएको हुँ ।’

सीसीटिभीबाट लिइएको फुटेज फोटो

चोरी गर्दाको हुलिया र कपडा म्याच भएपछि प्रहरीले मनकुमारी सिंहलाई गएराति काँडाघारीबाट पक्राउ गरेको हो । मनकुमारीका पतिलाई पनि सोधपुछका लागी बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए । तर, चोरीमा श्रीमानको भूमिका नदेखिएको उनको भनाइ छ ।

बच्चा चोरीमा संलग्न रहेको आरोपमा मनकुमारी र अर्की एकजना महिला पनि पक्राउ परेकी छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लामो समय बच्चा नभएपछि मनकुमारीले बच्चा चोरेको थाहा भएको छ । मनकुमारीले तीनपटकसम्म बच्चा खेर गरेको प्रहरीसँग बताएकी छन् । अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘विवाह गरेको लामो समय बच्चा नभएपछि चोरी गरेको देखिन्छ ।’

मनकुमारीले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठकी २६ दिने छोरी शुक्रबार चोरेकी प्रसूती गृहबाट चोरेकी थिइन् । सविनालाई सहयोग गर्ने निहुँमा बच्चा चोरेर उनी भागेकी थिइन् ।

बच्चा चोरी भएको थाहा हुनेवित्तिकै सविनाले प्रहरीलाई खबर गरेकी थिइन् । खबर पाएलगत्तै प्रहरीले खोजी सुरु गरेको थियो । सीसीटिभी फुटेजको आधारमा बच्चाको उद्दार गरी मनकुमारीलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्