Logo
Logo

बजेटमा कनिका छर्ने तरिकाले समृद्धि हासिल गर्न सकिँदैन : प्रधानमन्त्री



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा साना योजना संघमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् ।

आज बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा उनले संघीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिँदै यस्तो बताएका हुन् ।

प्रचण्डले भने, ‘बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन । अलि रणनीतिक महत्वका योजना मात्र संघमा राख्छौं । तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन् । बजेटको क्षेत्र तोकेर पठाइन्छ । आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइन्छ ।’

उनले नयाँ योजना धेरै नथपिकन पूरा हुन बाँकी पुराना योजनामा बजेट विनियोजन गरिने बताए । ‘खर्च गर्न नसकिने शीर्षकमा बजेट थुपार्ने, अत्यावश्यक आयोजनामा बजेटका अभाव हुने बेथिति अन्त्य गर्नुपर्छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘पुराना योजना सम्पन्न गर्ने कुरामा सरकारको पुरै जोड रहन्छ ।’

बैठकमा प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाबारे छानबिन आयोगले बुझाएको प्रतिवेदन अध्ययनकै क्रममा रहेको बताए । अध्ययनपछि त्यसबारेमा निर्णय गरिने उनको भनाइ छ ।

उनले भने, ‘आयोग बनाएर छानविन गर्ने निर्णय सरकारकै हो। प्रतिवेदन अध्ययनको प्रक्रियामा छ । अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं । यो सरकारको क्षेत्राधिकार हो। प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ ।’

गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्