Logo
Logo

बालकुमारी घटनाको प्रतिवेदन अध्ययनकै क्रममा छ : प्रधानमन्त्री



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाको छानविन प्रतिवेदन अध्ययन गरेरमात्रै निर्णय गरिने बताएका छन् । प्रतिवेदन आफूले पाइसकेको र अहिले अध्ययनकै क्रममा रहेको उनले बताए ।

शनिबार सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ । आयोग बनाएर छानविन गर्ने निर्णय सरकारकै हो। प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं । यो सरकारको क्षेत्राधिकार हो । प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ ।’

उनले तीन करोडभन्दा साना योजना संघमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताए । संघीयतालाई बलियो बनाउन प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरणमा जोड दिइएको उनको भनाइ छ ।

उनले भने, ‘बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन । अलि रणनीतिक महत्वका योजना मात्र संघमा राख्छौं । तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन् । बजेटको क्षेत्र तोकेर पठाइन्छ ।’

प्रतिक्रिया दिनुहोस्