Logo
Logo

कांग्रेस महासमितिका तीन प्रस्ताव र डाइनामिक्सहरू



नेपाली कांग्रेसको भर्खरै सम्पन्न महासमिति बैठकले नेपाली राजनीतिलाई दिशानिर्देश गर्ने तीन महत्वपूर्ण प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । ती प्रस्तावहरूमा महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत पार्टीमा अन्तरपार्टी प्राइमरी चुनाव गर्ने र नेताहरूको बहिर्गमनका लागि ‘वान–टु–थ्री–फोर’ सूत्र प्रयोग गर्ने तथा गगन थापाद्वारा प्रस्तावित चुनावपूर्वको गठबन्धनमा कांग्रेस सामेल नहुने प्रमुख हुन् ।

नेताहरुको बहिर्गमनका लागि प्रस्तावित ‘वान-टु-थ्री-फोर’ सूत्रमा कुनै व्यक्ति एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक मात्रै सांसदको शपथ लिन पाउने भन्ने रहेको छ ।

यसैगरी पार्टीको उम्मेदवारीका लागि अन्तरपार्टी प्राइमरी चुनाव हुने र त्यो चुनावमा सबैभन्दा बढी मत पाउने उम्मेदवार आकांक्षी नै पार्टीको आधिकारिक उम्मेदवार हुने भन्ने रहेको छ ।

यी दुवै प्रस्ताव कांग्रेसजस्तो परम्परावादी पार्टीको जीवनमा ज्यादै अग्रगामी हुन् । र, झट्ट सुन्दा कांग्रेसमा यी प्रस्ताव पारित हुनु स्वाभाविकजस्तो पनि लाग्दैन । तर, कांग्रेसको महाधिवेशपछिको दोस्रो ठूलो संस्था महासमिति बैठकले यी दुवै प्रस्तावलाई सर्वसम्मतले स्वीकार गर्यो । यसबाट कांग्रेस परेको बेला जस्तोसुकै युटर्न लिन पनि पछि हट्दैन भन्ने दृष्टान्त मिलेको छ । अझ गजबको कुरा त यो प्रस्ताव पारित गर्ने महासमिति बैठकको सभापतित्व नै छैटौँपटक प्रधानमन्त्री पदको शपथका लागि उल्टो दिनगन्ती गरिरहेका शेरबहादुर देउवाले गरेका थिए ।

यसैगरी पार्टीका अर्का महामन्त्री गगन थापाले आगामी आमचुनावमा कांग्रेसले कुनै पनि दलसँग चुनावपूर्वको गठबन्धन नगर्ने प्रस्ताव महासमितिमा पारित गराएका छन् । उनी गत आमचुनावमा नेकपा माओवादीसहित तत्कालीन सत्तारूढ पाँच घटकसँग चुनावपूर्व गठबन्धन गर्ने कुराको विपक्षमा थिए । त्यसका लागि उनले पार्टीभित्र अन्तिम समयसम्म पनि अडान लिए । तर, कांग्रेसको संस्थापन पक्षसामु उनको केही लागेन र उनी बहुमतको निर्णय स्वीकार गर्दै चुनावमा होमिए ।

तर, यसपटक उनले त्यो प्रस्ताव आफ्नो प्रतिष्ठाको विषय बनाएर महासमिति बैठकमा लगे र सर्वसम्मतरूपमा पारित पनि गराए । यसबाट पार्टीमा उनी एजेण्डाका हिसाबले मात्र हैन, नैतिकरूपमा पनि बलियो बने ।

यी तीनै प्रस्तावलाई कांग्रेस केन्द्रीय समितिको बैठकबाट संशोधनसहित पारित गरेर लागु गर्ने भनिएको छ । यद्यपि, कांग्रेस विधानमा महासमितिले पारित गरेको प्रस्तावमा केन्द्रीय समितिले संशोधन गर्न सक्ने वैधानिक व्यवस्था छैन । यस्तो अवस्थामा अब ती प्रस्तावहरू कसरी अगाडि बढ्छन्, हेर्नुपर्ने भएको छ ।

नेपाली कांग्रेसका यी तीनै प्रस्ताव संस्थापन पक्षका हैनन् । संस्थापन त यी तीनै प्रस्तावको विपक्षमै छ । उता, कांग्रेसको अल्पमत पक्ष पनि यी सबै प्रस्तावमा एक मत छैन । शेखर कोइरालालगायत ६० नाघेको पुस्ता यी प्रस्तावमा खासै उत्साही छैन । तर, महामन्त्रीद्वय शर्मा र थापा भने यी तीन प्रस्तावका पक्षमा महाधिवेशनदेखि नै पैरवी गरिरहेका थिए । र, कांग्रेसको भविष्यका लागि चिन्तित एउटा ठूलो युवा तप्काको बलमा यसपटक उनीहरूले यी तीनै प्रस्ताव महासमितिमा लगे र पारित पनि गराए । यद्यपि, संस्थापन पक्ष यी प्रस्तावलाई असफल बनाउन लागिपरेको प्रष्टैसँग देखिन्थ्यो ।

प्रस्ताव पारित होला त केन्द्रीय समितिमा ?
कांग्रेसले पारित गरेका यी प्रस्तावको कार्यान्वयनको पक्ष त छँदैछ, त्योभन्दा पनि पहिला महासमितिबाट सर्वसम्मतले पारित यी प्रस्ताव पार्टी संस्थापनले त्यही स्प्रिरिटमा स्विकार गर्ला त भन्ने नै अवस्था छ । संस्थापन पक्षका पार्टी उपसभापति पूर्णबहादुर खड्काले महासमितिमा एउटै प्रस्ताव सर्वसम्मतिले तीनै प्रस्ताव केन्द्रीय समितिमा लैजाने र संशोधनसहित पारित गर्ने भन्ने मात्रै पारित गरेको भनेर संस्थापनले यसमा खेल्ने संकेत गरेका छन् । उनले महासमितिमा सर्वसम्मतिका लागि पार्टीको अल्पमत पक्षको प्रस्ताव स्विकार गरिएको पनि बताएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिमा संस्थापन पक्षको ८२ प्रतिशत हिस्सा रहेको छ । र, त्यसको ठूलो हिस्सा यी तीनै प्रस्तावको पक्षमा छैन । यी प्रस्ताव पारित गर्दा वर्षौदेखि कांग्रेसमा डेरा सरीसरी बहुमत बनाएर चलखेल गरिरहेका खाइदेउहरूको भाग खोसिन्छ र उनीहरू चिल्लाराम हुन्छन् । त्यसैले उनीहरू यी प्रस्ताव पारित गरेर आफ्नै खुट्टामा बञ्चरो हान्न चाहदैनन् ।

यो प्रस्ताव पारित भएर तत्कालै लागु हुने हो भने यसबाट सबैभन्दा ठूलो असर पार्टी सभापति देउबालाई नै पर्छ । घाम जतिकै छर्लङ्गै छ कि उनले गठबन्धनलगायतका सारा जोडजाम आफूलाई छैठौँपटक प्रधानमन्त्री बनाउनलाई नै गरेका हुन् । केन्द्रीय समितिमा पटकपटक मन्त्री र सांसद भएका धेरै पदाधिकारी तथा केन्द्रीय सदस्य छन् । राजनीतिलाई पेशा बनाइरहेका उनीहरू कोही पनि नमरूञ्जेल बहिर्गमन चाहँदैनन् ।

यसैगरी आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने भन्ने हो भने अहिलेकै सत्ता गठबन्धन जोगाउन गाह्रो हुन्छ भन्ने संस्थापनको बुझाइ छ । त्यसो गर्दा यही वर्ष नै कांग्रेसले केन्द्रदेखि सातै प्रदेशका सरकारबाट पनि बाहिरिनुपर्ने स्थिति आउँछ । अर्कोतिर राष्ट्रियसभा अध्यक्ष हुनकै लागि चुनाव लडेका कृष्णप्रसाद सिटौलाको मुखमै आएको संवैधानिक पद पनि जान्छ । अहिले नै यो प्रस्तावका कारण सिटौलाको अध्यक्ष धरापमा परेको भनेर उनका गुटका धेरै नेता तथा कार्यकर्ता गगनलाई धारेहात लगाइरहेका छन् ।

यो प्रस्ताव जस्ताको तस्तै पारित हुँदा स्वयं गगन थापालाई पनि सकस हुन्छ । उनी तीनपटक सांसद भैसकेका छन् । त्यसैले उनका लागि पनि २०८४ को चुनाव अन्तिम हुन्छ । र, यहीपटक चुनाव जितेर प्रधानमन्त्री हुने दबाब बढ्छ ।
प्रस्तुत पृष्ठभूमिमा यी तीनै प्रस्ताव महासमितिमा सर्वसम्मत भएकै स्प्रिरिटमा केन्द्रीय समितिमा पारित हुन लगभग असम्भव छ । त्यहाँ विभिन्न नेता र गुट–उपगुटको स्वार्थको सौदावाजी हुँदा बढीमा कुनै न कुनै शर्त राखेर मात्र यी प्रस्ताव पारित हुने सम्भावना देखिन्छ ।

प्रस्ताव पारित भए कांग्रेसमा के हुन्छ ?
यी प्रस्ताव पारित भए तत्कालका लागि कांग्रेसको बूढो पुस्ता र जनाधार नभएका नेतालाई आहत पुग्छ भने कांग्रेसको भविष्य र नयाँ पुस्ताका लागि नेतृत्वमा आउन मार्गप्रशस्त भएर ठूलो राहत मिल्छ । यसबाट निराश भएका कांग्रेसजनमा आशा जाग्छ, राजनीतिज्ञमा पूर्वतयारी, सतर्कता, गम्भीरता र जवाफदेहीता बढेर जान्छ, कामको परिणाम देखाउने कुरामा उत्तरदायित्व बढ्छ र नेतृत्वसँग वाक्कदिक्क भएर कहिले बिदा लेलान् भन्ने पर्खाइको अन्त्य हुन्छ । कांग्रेसको मूल समस्याका रूपमा रहेको अवसरको न्यायोचित वितरणका लागि त बैधानिक व्यवस्था नै हुन्छ ।

प्रकारान्तरमा कांग्रेसमा केही हुन्छ भन्ने किसिमको भावना जागृत हुन्छ र कांग्रेस नै प्रजातान्त्रिक विचारमा विश्वास गर्नेको मियो संस्था बन्ने जबर्जस्त परिस्थिति निर्माण हुन्छ । यसो हुँदा नानाथरिका स्वतन्त्र र दक्षिणपन्थी नयाँ पार्टीको देशमा जरूरी नै पर्दैन। सम्भावना भएका नेताहरू प्राइमरी चुनाव लडेर सहजै अगाडि बढ्न सक्छन् र उनीहरूका लागि मन्त्री पद पनि अहिलेभन्दा धेरै नजिक हुन्छ । सबै जनतामै गएर प्रतिस्पर्धामा अब्बल भएर आउने भएकाले कांग्रेस र जनताबीचको सम्बन्ध अरू प्रगाढ हुन्छ, डेलिभरी बढ्छ र कांग्रेसको राजनीतिक गुरूत्व माथि उकासिन्छ ।

यसको प्रभाव अन्य दलमा के पर्छ ?
यो अग्रगामी थिति बसेर कांग्रेस दक्षिणपन्थी कित्ताको मियो बन्ने बित्तिकै त्यसको स्वभाविक प्रभाव अन्य दलमा पनि पर्छ । दक्षिणपन्थी दलमा रहेका वा प्रजातान्त्रिक विचार बोक्ने सम्भावना भएका नेता–कार्यकर्ता कांग्रेसमा गोलबद्ध हुन्छन् । यो कित्ताका स्वतन्त्र र नयाँ पार्टीका गतिला कांग्रेसमै गएर जनताका लागि राजनीति गर्छन्, बाँकी चटकेका सटर सदाका लागि बन्द हुन्छन् ।

कांग्रेसका कारण समग्र दक्षिणपन्थी कित्तामै हलचल भएर एउटै दक्षिणपन्थी होलसेल सटर बन्ने बित्तिकै त्यसको प्रभाव देशको वामपन्थी कित्तामा पनि पर्छ । वामपन्थीका नाममा थापिएका अनेकौ सटर बन्द भएर उनीहरू पनि एउटै वामपन्थी होलसेल सटर बनाउन बाध्य हुन्छन् ।

यसले गर्दा देश वैचारिक आधारमा राजनीतिक ध्रुवीकरणको बाटोमा जान्छ । कांग्रेसले दक्षिणपन्थी धारको नेतृत्व गर्ने बित्तिकै त्यसलाई टक्कर दिन वामपन्थी धारको एकीकृत कम्युनिष्ट पार्टी बन्ने बाध्यकारी परिस्थिति बन्छ ।

देशमा अहिले पनि केही अतिवादी दक्षिणपन्थी कम्युनिष्टलाई तथानाम गाली गर्दै सत्तोसराप गरिरहेका छन् । नाम जे दिए पनि संसारमा वामपन्थी शक्ति रहन्छ नै । नेपालको सन्दर्भमा पनि कम्युनिष्ट पार्टी एउटा बिकाउ ब्राण्ड हो । जबसम्म नेपाली समाजमा अभाव, गरिवी, अशिक्षा र विभेद न्युनिकरण भएर एउटा साइजमा आउँदैन तबसम्म नेपालमा कम्युनिष्ट ब्राण्ड बिकिरहन्छ । यो ब्राण्ड सक्नका लागि देश समृद्ध र जनता सुखी हुन सक्ने वातावरण बन्नुपर्छ । त्यस्तो परिस्थिति बनेपछि जनताले नै कम्युनिष्ट पार्टीलाई मत दिन छोड्छन् र अर्को नामको वामपन्थी दल बन्छ ।

अहिलेको आवश्यकता के हो ?
कांग्रेस महासमितिले गरेको यो निर्णय कांग्रेसका लागि त संजीवनी बुट्टी हो नै, नेपालको राजनीतिलाई सही ट्याकमा ल्याउने एउटा ऐतिहासिक प्रस्थान विन्दु पनि हो । त्यसैले नेपाली मिडिया, नागरिक समाज र विचार निर्माताले यो प्रस्तावको पक्षमा वहस पैरवी गर्न आवश्यक छ । यदि सबैले यसको आवश्यकता औल्याएर कांग्रेसको संस्थापनलाई दबाब दिने हो भने कांग्रेस यो निर्णय जस्ताको तस्तै अगाडि बढाउन बाध्य हुने छ । त्यसले प्रकारान्तरमा नेपाललाई सही राजनीतिक ध्रुवीकरणमा लैजानुको साथै सबैखाले बासी प्रवृति र पात्रलाई क्रमशः बिस्थापित गर्दै जनताले चाहेजस्तै साजी पात्र र प्रवृति स्थापित गर्न मार्गप्रशस्त गर्ने छ ।

यस अर्थमा कंग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा धन्यवादका पात्र छन् । कांग्रेस महासमितिमा यी दुईले पारित गराएका प्रस्तावले नेपालको राजनीतिलाई सही ट्रयाकमा ल्याउन सहयोग गर्नेछन् । त्यसैले जो जहाँ छौं, त्यही रहेर यी प्रस्तावलाई तार्किक निस्कर्षमा पु¥याउन मदत गरौं । यो समयमा नेपाल र नेपालीको भलाइका लागि गर्ने योगदान त्यही हुने छ ।

प्रतिक्रिया दिनुहोस्