काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्व. भक्तराज आचार्यको नाममा सरकारले नयाँ काम शुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमवार निधन भएका आचार्यको अन्तिम श्रद्धाञ्जलिका क्रममा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा उनले यस्तो बताएका हुन् । उनले स्व. आचार्यलाई नेपालीले कहिल्यै बिर्सिन नसक्ने बताए ।

उनले आचार्यका गीतहरु बाँच्नेहरुको निम्ति आदर्श हुने बताए । बाँच्नेहरुले आचार्यका निम्ति धेरै काम गर्न बाँकी रहेको बताए ।
‘उहाँलाई हामीले कहिल्यै पनि बिर्सिने छैनौँ । उहाँले सधैँ जीवनका गीत गाएर बाँच्नेहरुको निम्ति आदर्श व्यक्तित्व हुनुहुन्छ। उहाँको दुःखद् निधन अन्त्येष्टिको यो दिनमा उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्छु‚’ मन्त्री किरातीले भने‚ ‘हामी बाँच्नेहरुले उहाँको निम्ति धेरै काम गर्न बाँकी छ। उहाँको नाममा सरकारले केही गर्नेछ ।’
उनले आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताए ।














