सर्लाही । आम जनता पार्टी (आजपा) का उपाध्यक्ष रिता साहले जनताको पिर मार्कामा राज्यको विभिन्न निकाय र तहहरूद्वारा सहयोग गर्नुको सट्टा आजको दिनमा कर आतङ्क खडा गरिएको बताएका छन् ।
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा गाउँपालिकाका प्रमुखलाई आज विभिन्न माग गर्दै ज्ञापनपत्र बुझाउँदै उनले यस्तो बताएका हुन् । देशमा आर्थिक मन्दीका कारण आम जनताको जनजीवन कष्टकर बन्दै गइरहेको र आर्थिक सङ्कटबाट बह्मपुरी गाउँपालिका समेत प्रभावित भएको उनले बताए ।

‘जनताको आम्दानीमा कर लिने तर उत्पादन नोक्सान हुँदा वा घाटामा पर्दा हेर्न समेत नआउने उल्टै समयमा कर नतिर्दा सजायको भागिदार बनाउने जस्ता जनविरोधी कार्य खुलेआम भइरहेको छ’ उपाध्यक्ष साहले भने, ‘यो ब्रह्मपुरी गाउँपालिकाले समेत जन्मिदादेखि मृत्युसम्मसम्म समेत कर लगाउँने, कर संकल्न गर्ने तर करको सदुपयोग नगर्ने, आन्तरिक राजस्वलाई समेत पारदर्शी नबनाउने जस्ता कार्य गरिरहेको छ ।’
गाउँपालिकामा आर्थिक उत्पादनको श्रोत साधन सीमित रहेको, परम्परागत खेत प्रणालीमा आश्रित कृषि रहेको, व्यापार सुक्दै गएको, बेरोजगार गुणात्मक ढङ्गले बढिरहेको तथा मजदुरहरू बाध्य भएर कष्टकर वैदेशिक रोजगारबाट जीवनयापन गर्नुपर्ने अवस्था रहेको छ ।
यस्तो संकटपूर्ण अवस्थामा जनतामाथि अनावश्यक करको भार थुपार्ने र जनताको खुन पसिनाबाट निर्माण भएको सरकारी बजेटलाई केही मुठीभर निर्वाचित जनप्रतिनिधिहरू आफूखुसी भागबन्डा गरी चाट्ने कार्यले गाउँपालिकाको विकास सम्भव नभएको साहको भनाई रहेको छ ।
यस्ता गलत कार्यहरू पुनः हुन नदिन र जनताका आधारभूत समस्या समाधान गर्न तथा ब्रह्मपुरी गाउँपालिका प्रति आम जनताको विश्वसनीयता अभिवृद्धि गर्न ज्ञापन पत्रमार्फत आजपाले माग गरेको छ । ब्रह्मपुरी गाउँपालिकाको अध्यक्षको प्रत्याशी समेत रहेकी साहले आफूहरूको माग बेवास्ता गरिए चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएकी छन् ।
ब्रह्मपुरी गाउँपालिकाले शून्य कर नीति लागू गरोस् अर्थात् जनताबाट उठाउने प्रत्येक कर माफ होस, गाउँपालिकामा बसोबास गर्ने सम्पूर्ण जनताको बिजुली र पानीको महसुल फ्री गर्नुपर्ने, सिँचाइको व्यवस्था प्रत्येक वडामा अनिवार्य हुनुपर्ने, उपभोक्तालाई नेपाल विद्युत प्राधिकरणले गाउँपालिकाले समयमा पैसा नतिर्दा आम नागरिकको विद्युतकाे समस्या समाधान गर्नुपर्ने, सेप्टी टयांकी सरसफाइ निःशुल्क हुनुपर्ने, गाउँपालिकामा बसोबास गर्ने सम्पूर्ण गरिब दलितको आवासको र युवाका लागि खेलकुदको व्यवस्था गर्नुपर्ने, गाउँपालिकामा हुने भ्रष्टाचार, अनियमितता तथा भागबन्डाको अन्त्य गर्नुपर्ने लगायतका माग आजपाले गरेको छ ।














