Logo
Logo
वाफ च्याम्पियनसिप 

उपाधिका लागि आज नेपाल र जोर्डन भिड्दै



काठमाडौं । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा आज नेपालले जोर्डनसँग भिड्दैछ । साउदी अरेबियामा जारी उक्त प्रतियोगिताको फाइनल खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

फाइनलमा नेपालकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को उपस्थिति रहने छैन । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार, सावित्रा फ्रान्सेली क्लब ईभी गुइनगाम्पबाट व्यावसायिक फुटबल खेल्छिन् । त्यसैले वाफ च्याम्पियनसिपको फाइनलअघि नै उनी फ्रान्स फर्कनेछिन् ।

विश्व फुटबल महासंघ (फिफा)को नियम अनुसार राष्ट्रिय टोलीको खेल फिफा विन्डोमा रहेको अवस्थामा मात्र खेलाडीले देशको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । तर, वाफ च्याम्पियनसिप फिफा विन्डोभन्दा बाहिर छ । त्यसैले उनी नेपालको फाइनल खेल छाडेर व्यावसायिक फुटबल खेल्न फ्रान्स फर्कनु परेको हो ।

साम्बाले समूहगत चरणमा सिरियाविरुद्ध एक गोल, इराकविरुद्ध पाँच गोल र प्यालेस्टाइनविरुद्ध दुई गोल गरेकी थिइन् । लेबनानविरुद्धको सेमिफाइनल खेलमा पनि उनले एक गोल गरेकी थिइन् । सेमिफाइनलमा नेपालले लेबनानलाई २–१ गोलले हराएको थियो ।

नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । नेपालले समूहगत चरणमा तीनवटै खेल जितेको थियो । नेपालले पहिलो खेलमा सिरियालाई ४–१, इराकलाई ५–० र प्यालेस्टाइनलाई ४–० गोलले हराएको थियो । जारी प्रतियोगितामा नेपालले १५ गोल गरिसकेको छ भने दुई गोलमात्र खाएको छ ।

जोर्डन समूह ‘ए’बाट सेमिफाइनलमा प्रवेश गरेको थियो । जोर्डनले पनि समूहगत चरणमा आफ्नो तीनवटै खेल जितेको छ ।
जोर्डनले पहिलो खेलमा आयोजक साउदी अरेबियालाई ३–१, दोस्रो खेलमा ग्वामलाई ३–० र तेस्रो खेलमा लेबननलाई २–० गोलले हराएको थियो भने सेमिफाइनलमा प्यालेस्टाइनमाथि ५–० गोलको फराकिलो जित हात पारेको थियो ।

हालसम्म जोर्डनले एक गोलमात्र खाएको छ । जारी प्रतियोगितामा जोर्डनकी मायसा जबारह सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । उनले हालसम्म पाँच गोल गरिसकेकी छन् । नेपाल र जोर्डनबिच आज हुने फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्