
काठमाडौं – हल्ट प्राइज एट अमृत साइन्स क्याम्पस(अस्कल)को फाइनल भव्यताका साथ सम्पन्न भएको छ । फाइनल कार्यक्रम आइतबार त्रिभुवन विश्वविद्यालय त्रिवि केन्द्रिय क्याम्पसको शिक्षा संकायको हल किर्तिपुरमा भएको थियो ।
उक्त कार्यक्रममा ११ फाइनलिस्ट समुहहरुले हल्ट प्राइजको थिममा आधारित आफ्नो आईडिया पिच गरेका थिए । उक्त कार्यक्रममा टिम इको थैलीले प्लास्टिक हरुको बिकल्पमा केराबाट झोला उत्पादन गर्ने आइडिया प्रस्तुत गरेको थियो भने टिम ट्र्यास ट्रोव कुहिने र नकुहिने फोहरलाई रिसाइकल गर्ने आइडिया पस्केका थियो। त्यस्तै खेति सिटीले ससाना किसानलाई पनि बजारीकरण गर्ने, टिम वी कलेक्टले वेस्ट म्यानेजमेन्ट आईडिया प्रस्तुत गरेका थिए ।
प्रस्तुत आईडियाहरूबाट विजेता छनौट गर्न गल्लि एप्सका को–फाउन्डर राज विक्रम महर्जन, एडुकेसकी सहसंस्थापक वेदिका मुरारका, भेरिस्कका सिनियर सिस्टम इन्जिनियर रमन प्रधानाङ्ग र फयुज मेसिनका सिनियर इन्जिनियर सन्दीप बस्नेतको निर्णायक मण्डल बनाइएको थियो ।
हरेक समुहका लागि प्रस्तुतीलाई चार मिनेट र निर्णायक मण्डलसङ्ग प्रश्न उत्तर सत्रलाई अर्को चार मिनेटको समय छुट्याइएको थियो । ११ जनाको फाइनलिष्ट मध्येबाट इको थैली टिम विजेता बनेको छ । अब इको थैली टिम हल्ट प्राइजको अन्तर्राष्ट्रिय प्रतियोगितामा जाने क्याम्पस डाइरेक्टर समीप लम्सालले जानकारी दिए । यस बाहेक दोस्रो ट्र्यास ट्रोव र तेस्रो स्थानमा वी कलेक्ट भएका छन् ।
कार्यक्रमको मुख्य प्रायोजक तथा ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस नेपाल रहेको थियो भने टेक पार्टनर लोयल कम्प्युटर बिष्णु, न्युरोड र इन्ट्रान्स पार्टनर सरल शिक्षा, बागबजार रहेको थियो। त्यस्तै प्रोग्रामिज इलर्निङ पार्टनर र थुप्रै बुक पार्टनरको रुपमा रहेका थिए।
कार्यक्रमको प्रमुख अतिथि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डीन डा. खगेन्द्र मण्डल थिए भने विशिष्ट अतिथि कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभागका प्रमुख सर्विन सायमी थिए। हल्ट प्राइज अमृत क्याम्पसमा पहिलो पटक आयोजना भएको हो। विद्यार्थीका लागि नोबेल पुरस्कारका रुपमा परिचित ‘हल्ट प्राइज’ सन् २००९ बाट सुरु भएको हो।














