Logo
Logo

साम्बा भन्छिन्- म मैदानबाहिर भएपनि आफ्नो देशको समर्थनमा हुनेछु



काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले बिहीबार राति खेलिने जोर्डनविरुद्धको खेलमा आफू उपस्थित नभएपनि मैदान बाहिरबाट देशको समर्थन गर्न आतुर रहेको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै उनले भनेकी छन्, ‘खेलाडीका रुपमा मैदानमा नभएपनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु । जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थेँ, त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर छु ।’

उनले जोर्डनविरुद्धको खेल नेपालले जित्ने पनि विश्वास व्यक्त गरेकी छन् । उनले भनेकी छन्, ‘मलाई विश्वास छ हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ । हामीले एक टिमको रूपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौँ । प्रतिद्वन्द्वी कठिन भए पनि हामी पुनः एकपटक एकजुट भएर जित हासिल गर्नेछौँ भन्ने विश्वास राखेको छु । शुभकामना टिम ! हामी सक्छौँ, हामी गर्छौँ ।’

फुटबल खेलाडी भएकाले आफू व्यावसायिक खेल जीवन र सम्झौतालाई सम्मान गर्न पनि बाध्य रहेको उनले बताएकी छन् । ‘देशको लागि खेल्नु मेरो लागि आज पनि उत्तिकै महत्वपूर्ण छ, जति मैले गाउँ छोडेर सहर पस्दा त्यो जर्सी लगाउने सपना साँचेको थिएँ । नेपालको जर्सी लगाएर मैदानमा बिताएको हरेक सेकेन्ड मैले आफ्नो अन्तिम खेल जसरी खेलेको छु’ उनले आफ्नो पोष्टमा लेखेकी छन्, ‘नेपालको प्रतिनिधित्व गर्नुभन्दा ठुलो गौरवको कुरा सायदै अरू होला ।’

उनले अगागि लेखेकी छन्, ‘वाफ महिला च्याम्पियनसिपमा हामी फाइनल खेल्दैछौं । तर, एक फुटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ । क्लबले सधैँ मेरो लागि सहज वातावरण सिर्जना गरिदिएको छ र यसपटक पनि फिफाले तोकेभन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएकोमा धन्यवाद भन्न चाहन्छु ।’

पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा बिहीबार नेपाली टोलीले जोर्डनको सामना गर्दैछ । साउदी अरेबियामा जारी उक्त प्रतियोगिताको फाइनल खेल नेपाली समय अनुसार, राति ९ः४५ बजे सुरु हुनेछ ।

तर, फाइनल खेलमा नेपालकी प्रभावशाली स्ट्राइकर साम्बा उपस्थित हुने छैनन् । सावित्रा फ्रान्सेली क्लब ईभी गुइनगाम्पबाट व्यावसायिक फुटबल खेल्छिन् । त्यसैले वाफ च्याम्पियनसिपको फाइनलअघि नै उनी फ्रान्स फर्किएकी हुन् ।

जारी वाफ च्याम्पियनसिपमा साम्बाले नौ गोल गरिसकेकी छन् । उनी जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । साम्बाले समूहगत चरणमा सिरियाविरुद्ध एक गोल, इराकविरुद्ध पाँच गोल र प्यालेस्टाइनविरुद्ध दुई गोल गरेकी थिइन् । उनले लेबननविरुद्धको सेमिफाइनल खेलमा पनि एक गोल गरेकी थिइन् । सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २–१ गोलले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्