Logo
Logo

सिंहदरबार र संसद भवन बाहिरकाे फुटपाथबाट प्रहरीले डोरी हटायो


756
Shares

काठमाडौं । प्रहरीले नयाँ बानेश्वरस्थित संघीय संसद् भवन, सिंहदरबार र बालुवाटार स्थित प्रधानमन्त्री निवास क्षेत्रमा टाँगिएको फुटपाथको डोरी हटाएको छ ।

सर्वसाधारणलाई पैदल हिँड्न समेत निषेध गरेर डोरी टाँगेकोबारे सर्वत्र आलोचना भएपछि प्रहरीले डोरी हटाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले बानेश्वर, बालुवाटार र सिंहदरबारको फुटपाथमा टाँगेको डोरी हटाइएको जनाएको छ ।

फागुन १४ मा निषेधित क्षेत्र तोडेर लघुवित्तका ऋणि महिलाहरु संघीय संसद् भवनमा प्रवेश गरेपछि प्रहरीले सर्वसाधारणलाई फुटपाथमा समेत हिँड्न रोक लगाएको थियो । संसद् भवन प्रवेश गरेको आरोपमा ४८ जना महिला र एक जना पुरुष अझै थुनामा छन् ।

संसद् भवनको कम्पाउन्डबाट पक्राउ गरिएकाहरू विरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले मुलुकी अपराध संहिता–२०७४ अनुसार सार्वजनिक शान्ति विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डिएसपी दिनेश घिमिरे सदस्य छन् ।

प्रहरीले संसद्को सुरक्षामा खटिएका प्रहरी निरीक्षक इन्स्पेक्टरसहित ३२ जनालाई प्रधान कार्यालय तानी छानबिन थालेको छ । उनीहरुको ठाउँमा अर्को टोली पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्