Logo
Logo

दुधको भुक्तानी माग्दै रौतहटका किसानद्वारा पूर्वपश्चिम राजमार्गमा चक्काजाम


630
Shares

फाइल फाेटाे

रौतहट । रौतहटका दूध उत्पादक किसानहरू दुधको भुक्तानी नपाएको भन्दै प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले
बिहीबार पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरमा दुई घण्टा सडक बन्द गरेर प्रदर्शन गरेका हुन् ।

नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसीले रौतहटका दूध उत्पादक किसानको हालसम्मको करिब ७ करोड रुपैयाँ तिर्न बाँकी छ ।

देशभरका किसानहरुको गत भदौको दोश्रो सातायता फागुन १५ गतेसम्मको कुल भुक्तानी करिब ७ अर्ब डिडिसिले तिर्न बाँकी छ । दूधको पैसा समयमा नदिएपछि रौतहटका दूध उत्पादक किसानहरुले आन्दोलनका कार्यक्रम तय गरी पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुर मुख्य सडक खण्डमा चक्काजाम गरेका हुन् ।

दूध उत्पादक जिल्ला संघ रौतहटका अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार सम्बन्धित निकायको ध्यानाकर्षण गराउन दूध उत्पादक किसानहरूले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगापुरमा २ घण्टा चक्काजाम गरेको बताए । दूध उत्पादक किसानहरुले यो कार्यक्रम देशभरका ७७ वटै जिल्लामा गर्ने समेत अधिकारीले जानकारी दिए ।

विगत ६ महिनादेखि दूध बिक्री गरेको पैसा नपाएपछि व्यावसायिक रुपमा पशुपालनमा लागेका किसानहरूलाई घर चलाउन नै समस्या भएपछि आन्दोलन गर्न बाध्य भएको किसानहरूले बताएका छन् ।

६ महिनासम्म दूधको पैसा नदिएका निजी तथा सरकारी स्वामित्वका डेरीहरुले समयमा किसानले उत्पादन गरेको दुध समेत खरिद नगर्दा किसानहरु दुध फाल्न बाध्य भएको उनीहरूको गुनासो रहेको छ । दुध बेचेको पैसा समयमा नआउँदा व्यवसायिक रुपमा ठूलो संख्यामा पशुपालन गर्दै आएका रौतहटका किसानहरु मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्