Logo
Logo

कैलालीमा दूध पोखेर प्रदर्शन


441
Shares


कैलाली। दूग्ध विकास संस्थानले दूधको मूल्य भुक्तानी नगरेको भन्दै कैलालीकाेअत्तरियामा दूध पोखर विरोध जनाइएको छ ।नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघको अगुवाइमा दूध पोखेर प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनमा सहभागी किसानले पाँच महिनादेखि संस्थानबाट दूध बिक्री गरेको रकम नपाउँदा आफूहरु समस्यामा परेको गुनासो गरेका छन् ।

दूध बिक्री नभएको भन्दै संस्थानले भुक्तानी रोकिदिएको गोदावरी नगरपालिकाका किसान मोहनलाल जोशीले बताए । भुक्तानी नपाउँदा बस्तुभाउका लागि दाना किन्नसमेत समस्या भएको उनले बताए । ‘संस्थानमा पैसा रोकिएपछि हामी समस्यामा छौँ’ जोशीले भने, ‘घर खर्च धान्नै समस्या भइसक्यो ।’

गोदावरीकै किसान पदमराज गिरीले दूधको भुक्तानी नपाउने, उचित मूल्य नपाउने र बिक्रीको समस्याले किसान विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको बताए । दूग्ध विकास संस्थान धनगढी दूग्ध वितरण आयोजना कार्यालय अत्तरियाले गत १६ असोजदेखि किसानलाई दूधको रकम भुक्तानी दिन नसकिएको जनाएको छ ।

कार्यालयका संकलन प्रमुख चन्द्रमोहन लेखकले दूधको करिब पाँच करोड १० लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको जानकारी दिए । दूध बिक्री घटेपछि भुक्तानी रोकिएको उनले बताए । संस्थानले अहिले प्रदेशभरिबाट दैनिक पाँच हजार लिटर दूध संकलन गरिरहेको छ । तर दैनिक पाँच सय लिटरमात्र बिक्री भइरहेको संकलन प्रमुख लेखकले जानकारी दिए ।

बाँकी दूध पाउडर बनाउनका लागि संस्थानको पोखरा कार्यालय पठाउनु परिरहेको उनले बताए । ‘दूध बिक्री भएन, संस्थानको आम्दानी घटेपछि किसानलाई भुक्तानी दिन नसकिएको हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्