Logo
Logo

टी-२० सिरिज : नामिबियामाथि नेपालको रोमाञ्चक जित



काठमाडौं । त्रिकोणात्मक टी- २० आई सिरिजमा नेपालले नामिबियामाथि रोमाञ्चक जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको हो । योसँगै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको छ ।

जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ‌ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो ।नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । तर, करण केसीले कसिलो बलिङ गर्दै ८ रन मात्र दिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै एक सय ८० रनको योगफल बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले ३७ बल खेल्दै एक चौका र चार छक्काको मद्दतमा ५५ रन बनाएका थिए । कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरे । आरिफले आउट हुनुअघि २४ बलमा चार चौकाको सहायताले ३१ रन जोडेका थिए ।

त्यस्तै गुलशन झाले १६ बल खेल्दै एक चौका र तीन छक्काको सहायताले २६ रन बनाए भने अनिल शाहले १७ बलमा तीन छक्काको मद्दतमा २३ रन जोडेका थिए । दीपेन्द्रसिंह ऐरी आठ बलमा दुई चौका प्रहार गर्दै १६ रनमा आउट भएका थिए । कप्तान रोहितकुमार पौडेल नौ बलमा दुई चौका प्रहार गर्दै १० रनमा आउट भएका थिए ।

त्यस्तै सुरुआती ब्याट्सम्यान आसिफ शेख एक रनमा आउट हुँदा करण केसीले सात तथा सोमपाल कामी दुई रनमात्रै बनाए ।

बलिङतर्फ नामिबियाका बेन शिकाङगोलले तीन विकेट लिए भने ज्याक ब्रेसलले दुई विकेट झारेका थिए । त्यसैगरी बर्नार्ड स्कोल्ज र जान निकोल लोफटी इटनले समान एकरएक विकेट लिएका थिए ।

यस जितसँगै नेपालले २ अंक जोडेको छ । नामिबियाको पनि समान २ अंक छ । नेदरल्यान्ड्स २ खेलमा ४ अंक जोड्दै शीर्षस्थानमा छ । अब नेपालले शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । आइतबार नामिबिया र नेदरल्यान्ड्स खेल्नेछन् । फाइनल मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्