काठमाडौं । नेकपा एमालेले पनि नयाँ सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । गत वर्ष प्रचण्डबाट धोका पाएका अधिकांशले मौका पाएका छन् ।
नयाँमा रघुवीर महासेठ र बलराम अधिकारी थपिएका छन् । एमालेले सचिव रघुवीर महासेठको नेतृत्वमा एक राज्यमन्त्रीसहित ९ जनालाई पठाउने एमालेले जनाएको छ । रघुवीरलाई भौतिक पूर्वाधार मन्त्रालयमा पठाइनेछ । अन्यको भने मन्त्रालय टुंगो लागिसकेको छैन ।

राजेन्द्र राई, ज्वालाकुमारी शाह, दामोदार भण्डारी, भगवती चौधरीलाई पनि एमालेले पुनस् सरकारमा पठाउने भएको छ । विमला राई पौड्यालको ठाउँमा कपिलवस्तु १ बाट निर्वाचित बलराम अधिकारीलाई पठाइने भएको छ । रघुवीर पनि गत वर्षको प्रचण्ड टीममा थिएनन् ।
यसअघि गत पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाएर जाँदा एमालेको भागमा ८ वटा मन्त्रालय परेको थियो । त्यस बेलामा एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा पठाएको थियो ।
कृषि तथा पशुपन्छी विकासमा ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा राजेन्द्रकुमार राई, परराष्ट्रमा विमला राई पौड्याल, स्वास्थ्य तथा जनसंख्यामा पदम गिरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा भगवती चौधरी र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेतीलाई पठाएको थियो ।
तर, प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा पुग्दा एमाले नेतृत्वको गठबन्धन छाडेर कांग्रेसतिर ढल्किएपछि दुई महिनामै सरकारबाट बाहिरिएको थियो । अहिले फेरि त्यही गठबन्धन ब्युँताउन सफल भएपछि त्यस बेला प्रचण्डबाट धोखा खाएकाहरूलाई नै प्राथमिकता दिइएको छ ।














