Logo
Logo

डीएसपी उपेन्द्र बस्यालकाे सुसाइड नाेट : होसहवासमै आफ्नो प्राण त्याग गरेको हुँ


9k
Shares

काठमाडौं । सशस्त्र प्रहरीका डीएसपी उपेन्द्र बस्यालले आत्महत्याअघि सुसाइड नोटमा आफूले होसहवासमा प्राण त्याग गरेको भन्दै छानबिनको नाममा अरुलाई दुःख नदिन अनुरोध गरेका छन् ।

गत फागुन २१ गते बस्याल मृत भेटिएका थिए । मोरङको धनपालथान गाउँपालिका–३ स्थित सशस्त्रको सीमा सुरक्षा गुल्मका प्रमुख ४२ वर्षीय बस्यालले आत्महत्या गरेको अनुसन्धान निष्कर्ष छ ।

सशस्त्र प्रहरी बल कोशी प्रदेशका डीआईजी अन्जनी पोखरेलले पोस्टमार्टम गरेर उनको शव मोरङबाट पाल्पा पठाइएको बताए । डिएसपी बस्यालले घटनास्थलमो छाडेको सुसाइड नोटबारे आफूहरुले अनुसन्धान गरिरहेको डीआईजी पोखरेलले बताए ।

‘काम गर्न नसकेको र काम गर्न खोज्दा कानुनले अप्ठेरो पार्ने खतरा पो भयो, बद्नियत पूर्व पवित्र संगठनलाई अप्ठेरो पार्न खोजेको हैन’, सुसाइड नोटमा बस्यालले लेखेका छन् ‘तर, संगठनलाई आँच आउने कुरा भयो भने त बाँच्नुको अर्थ छैन । सरी चिफसाप, सरी फ्रेन्ड्स ।’

उनले पत्नीलाई बच्चाको राम्रोसँग हेरचाहा गर्न आग्रह गरेका छन् । बस्यालले नोटमा थापेका छन्, ‘मलाई माफ गर, मैले जीवनमा तिमीलाई खुसी दिन सकिँन, मेरो डेडबडीलाई पाल्पा राम्दी पठाउनु ।’

बस्यालले आत्महत्याबारे छानबिन गर्ने नाममा अनावश्यक प्रेसर नगर्न पनि प्रहरीसँग आग्रह गरेका छन् । उनको नोटको अन्तिममा लेखिएको छ–‘सरि, ब्याचमेट मलाई झल्लु नठानेर सम्झिरहनु, गुडबाई ।’ पाल्पा घर भएका बस्याल कार्यालय परिसरको कोठाको सिलिङमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्