
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीको नियुक्ति गैरकानुनी भएको ठहर गरेको छ । केन्द्रमा परेको उजुरीमाथि अनुसन्धान गर्दै केन्द्रले कारवाहीका लागि कोषमा पत्राचार गरेको छ ।
२२ फागुनमा केन्द्रका सचिव रामआधार साहले अधिकारीको नियुक्ति नियुक्ति विधिसम्मत नदेखिएको भन्दै आवश्यक कारबाही गर्न कोषका अध्यक्ष कृष्णप्रसाद ओलीलाई निर्देशन दिने निर्णय गरेका छन् ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ (छ)ले दिएको अधिकार बमोजिम सतर्कता केन्द्रले यस्तो पत्र पठाएको हो । मनोनयनको प्रक्रिया नपुगेको र नियुक्ति गर्दा पालना गर्नुपर्ने कार्यविधि पनि पालना नभएको सतर्कताको ठहर छ । पत्रअनुसार अधिकारी अब पदमुक्त हुने छन् ।
सतर्कता केन्द्रले अनुसन्धानमा नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको वन तथा भू–संरक्षण मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ अनुसार अधिकारी नियुक्त नभएको ठहर गरेको छ । सो मापदण्डले तोकेको शैक्षिक योग्यता अधिकारीसँग नभएको र मापदण्ड अनुसार पूरा गर्नुर्पो मनोनयनको प्रक्रिया पूरा नभएको सतर्कताको ठहर छ ।
यस्तै वन तथा वातावरण मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी, कार्यकारी प्रमुख तथा सदस्यको नियुक्ति र मनोनयनका लागि छनोट गर्दा अपनाउनुपर्ने कार्यविधि, २०७५ अनुसार पालना गर्नुपर्ने व्यवस्थाहरु समेत मिचिएको सतर्कताले जनाएको छ ।
शक्तिबहादुर बस्नेत वन तथा वातावरणमन्त्री भएका बेला ३ पुस २०७७मा ५ वर्षका लागि अधिकारीलाई कोषमा नियुक्त भएका थिए । सुरुदेखि नै उनको नियुक्तिमाथि विवाद चलिरहेको छ ।














