Logo
Logo

वाम लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनु सकारात्मक : झलनाथ खनाल


252
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ गठबन्धनलाई दायाँ बायाँ गर्ने छुट नभएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले नयाँ गठबन्धन सरकारलाई शुभकामना दिँदै वाम लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनु सकारात्मक भएको समेत बताएका छन् ।

नेता खनालले भनेका छन्, ‘हाम्रो देशमा एक वर्षअघि बनेको गठबन्धनको सरकार टुटेको छ र वामपन्थी शक्तिहरूको पहल र नेतृत्वमा यही २१ फागुनमा नयाँ बाम–लोकतान्त्रिक गठबन्धनको सरकारले आकार लिएको छ । यो नेपालको समकालीन राजनीतिक परिस्थितिमा आएको एउटा महत्त्वपूर्ण सकारात्मक परिवर्तन हो । यो नयाँ सरकारलाई सर्वप्रथम हाम्रो पार्टीको तर्फबाट म हार्दिक स्वागत र समर्थन गर्दछु ।’

उनले विगतको गठबन्धनले अघि सारेका नीति, कार्यक्रम र बजेटले जनता र राष्ट्रको कुनै पनि आधारभूत समस्याहरूलाई सम्बोधन गर्न नसकेको पनि बताएका छन् ।

‘आजको त्रिशंखु संसदमा कुनैपनि पार्टीको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनु अनिवार्य नै थियो र छ । तर, विगतको गठबन्धनले अघि सारेका नीति, कार्यक्रम र बजेटले जनता र राष्ट्रको कुनै पनि आधारभूत समस्याहरूलाई सम्बोधन गर्न सकेन । देशको राजनीति, अर्थतन्त्र, सामाजिक तथा सांस्कृतिक स्थिति र राष्ट्रियता सबै क्षेत्र झनझन सङ्कटग्रस्त बन्दै गइरहेको थियो । बेरोजगारी र भ्रष्टाचार झन् व्यापक बन्दै गएको थियो र देशका युवाहरू बाहिर जाने क्रम झनझन तीव्र बनिरहेको थियो । त्यसले गर्दा वामपन्थी एकताको माग दिन प्रतिदिन बढिरहेको थियो’ उनले भनेका छन् ।

नेता खनालले जनचाहना र मुलुकको आवश्यकतालाई प्रतिबिम्बित गर्दै बाम लोकतान्त्रिक शक्तिहरूको नयाँ सरकार बनेकोले यो सरकारमा आफ्नो पार्टी पनि सहभागी बनेको स्पष्ट पारेका छन्

उनले भनेका छन्, ‘नयाँ सरकार बन्दा आमजनतामा नयाँ आशाको सञ्चार भएको छ र मुलुकका वामपन्थी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरू समेत यो सरकारप्रति सकारात्मक देखिएको छ ।’

उनले यतिबेला विश्वको परिस्थिति अत्यन्त तनावयुक्त बन्दै गएको बताउँदै भूराजनीतिक शक्तिहरू बीचको प्रतिस्पर्धा तीव्र बनिरहेको बताएका छन् ।

‘कतै विश्व युद्ध त हुने होइन भन्ने आशङ्का देखिन थालेको छ । हाम्रो देशको रणनीतिक महत्वका कारणले भूराजनीतिक शक्तिहरूको चासो दिन प्रतिदिन बढिरहेको छ’ उनले भनेका छन्, ‘यस्तो स्थितिमा हामीले मुलुकको सर्वोपरि राष्ट्रिय हितलाई ध्यानमा राख्दै सन्तुलित विदेश नीतिलाई अख्तियार गर्दै हाम्रा अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोगहरूलाई अघि बढाउनुपर्ने चुनौतीपूर्ण आवश्यकता हाम्रासामु छन् ।’

प्रतिक्रिया दिनुहोस्