
काठमाडौं । सिरहामा आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको गोलबजार नगरपालिका–६ का महेन्द्र कुमार साहकी श्रीमती करिव ३५ वर्षिय अनिता कुमारी साहको धारीलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
साह दम्पती स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल सञ्चालन गर्दै आएका थिए । अनिताको धारीलो हतियारले गर्दन काटीएको र सिलौटो टाउकोमाथि बजारीएको अवस्थामा घरभित्र सुत्ने खाटनजीकै शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
प्रहरीले उनको घर नजीकै रहेको गोठको नादीबाट हत्यामा प्रयोग भएको खुकुरी बरामद गरेको छ । राति अवेर अनिताको श्रीमान महेन्द्र आत्तिएर बाहिर आएको थाहापाएपछि छिमेकीले घटनाबारे जानकारी पाएका थिए । साह आत्तिएर वेहोस भएपछि छिमेकीले नै उनलाई अस्पताल पुर्याएलगतै घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।
अनिताको हत्यामा श्रीमान संकाको घेरमा छन् । घटनाबारे तालिम प्राप्त कुकुरको सहयोगमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














