Logo
Logo

सुनको जलप लगाइएको तामासहित एक जना पक्राउ


378
Shares

काठमाडौं । सिन्धुपाल्चोकमा सुनको जलप लगाइएको तामासहित एक जना पक्राउ परेका छन् । बाह्रबिसे नगरपालिका वडा नम्बर ३ खुर्सानीबारीबाट प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय बाह्रबिसेको टोली सोमबार नियमित चेकिङका लागि बसेको थियो । चेकपोष्टमा तातोपानीबाट बाह्रबिसेमा भे ११ प ५५८८ नम्बरको मोटरसाइकल आएको थियो । जसमा भोटेकोशी गाउँपालिका वडा नम्बर ५ बस्ने २३ वर्षीय थर्चेन तेम्बा तामाङ सवार थिए ।

उनको व्यवहार अस्वभाविक देखेपछि प्रहरीले उनको शरीरमा तलासी लिएको थियो । उनीबाट प्रहरीले सुन जस्तो पहेँलो धातु बरामद गरेको थियो । सुनको बिस्किट आकारमा रहेको धातुमा ९९९.९ उल्लेख गरिएको थियो । त्यसको परीक्षण गर्न प्रहरीले सुन चाँदी व्यवसायीलाई गराएको थियो । ‘सुन–चाँदी व्यवसायी संघलाई परीक्षण गराएपछि बाहिर सुनको लेपन गरिएको र भित्र तामा राखिएको खुलेको छ,’ एसपी खड्काले भने ।

प्रहरीले उनीबाट मोटरसाइकल, चार हजार रुपैयाँ, मोबाइल, चेकबुक, राहदानी, नागरिकता पनि प्रहरीले बरामद गरेको छ ।तामाङले उक्त लेपन लगाइएको तामा कुन प्रयोजनका लागि ल्याएका थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीमाथि कुन शीर्षकमा म्याद थप गरी अनुसन्धान गर्ने भन्नेबारे पनि प्रहरीले बुझिरहेको छ । ‘कुन प्रयोजनका लागि ल्याइएको र ककसको संलग्नता छ भन्नेबारे अनुसन्धान हुन्छ,’ एसपी खड्काले भने ।

प्रतिक्रिया दिनुहोस्