Logo
Logo

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै, यस्तो छ समिकरण


1.6k
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिँदैछन् । जसको प्रायोजनका लागि आज ११ बजे प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेको हुन् ।

उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ ।

गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीको नयाँ समीकरण बनेको थियो । त्यही दिन नेपाली कांग्रेस सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिएको थियो । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

प्रतिनिधिसभामा एमालेको ७७, माओवादी केन्द्रको ३२, राष्ट्रिय रास्वपाको २१, जनता समाजवादी पार्टीको १२, एकीकृत समाजवादीका १० सांसद छन् । यस हिसाबले अहिले सत्ता गठबन्धनसँग १५२ रहेको देखिन्छ । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न १३८ मत आवश्यक हुन्छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो तेस्रोपटक हो । यसअघि २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यही २६ गते विश्वासका मत लिएका थिए ।

यस्तै, २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भएपछि चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए । त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएकामध्ये विश्वासको मतको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो ।

प्रतिक्रिया दिनुहोस्