Logo
Logo
अन्तर्वार्ता

‘प्रचण्ड धोकेबाज हुन्, उनीसँगै सती जान सकिँदैन’


मेटमणी चौधरी, प्रमुख सचेतक, एकीकृत समाजवादी


नयाँ गठबन्धन बनेसँगै सरकारको आयुको विषयमा अनेक कोणबाट प्रश्न उठेका छन् । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले)सँग सहकार्य गरेपछि राजनीतिमा तरंग नै पैदा भएको छ । गत निर्वाचनका कांग्रेससँग गठबन्धन गरेका प्रचण्डले चुनावलगत्तै एमालेसँग मिलेर सरकार बनाए । राष्ट्रपति निर्वाचनताका एमालेसँगको गठबन्धन तोडेर फेरि कांग्रेससँगकै गठबन्धनमा सामेल भए । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनताका फेरि एमालेसँगै गठबन्धन गर्न पुगेका छन् ।

यसपटक तत्कालीन नेकपाका घटकहरू एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी एउटै गठबन्धनमा आइपुगेका छन् । सुरुमा नयाँ गठबन्धन गर्दा एकीकृत समाजवादी संलग्न थिएन । तर, सरकार नै धरापमा पर्ने परिदृश्य देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली नेपालनिवास कोटेश्वरमै पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सहकार्यको प्रस्ताव गरे । वाम सहकार्य, राष्ट्रियता र जनजीविका सम्बोधन गर्ने सर्तमा एकीकृत समाजवादी दुई मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ ।

नयाँ घटनाक्रम विकसित भएसँगै एकीकृत समाजवादीका अध्यक्ष नेपाल र एमाले अध्यक्ष ओलीबिच पनि सम्बन्ध सुधारको प्रयास भएको छ । टेलिफोनमा र प्रत्यक्ष भेटेर नेपाल र ओलीले यसबिचमा पटक पटक संवाद गरिसकेका छन् ।

अध्यक्ष नेपालसँग कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूले पनि पटक पटक छलफल गर्दै आएका छन् । कांग्रेसका नेताहरूले नेपाललाई प्रधानमन्त्रीकै प्रस्ताव गरेका छन् । तर, प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गर्दै नेपाल वाम सहकार्यतर्फ अघि बढेका छन् । यद्यपि, कांग्रेससँगको सम्बन्ध बिगार्न नहुनेमा नेपाल सचेत देखिन्छन् ।

नयाँ सरकारको भविष्य, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको भूमिका, दलहरूसँग एकीकृत समाजवादीको सम्बन्धलगायतका विषयमा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीसँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश–

नयाँ सत्ता समिकरणलाई तपाईँले कसरी हेर्नुभएको छ ?
सरकार निरन्तर अगाडि बढिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट गठबन्धनलाई घात गर्ने काम भयो । प्रचण्डको कारण देशमा अस्थिरता मच्चिएको छ । ओलीभन्दा पनि धेरै गलत मान्छे प्रचण्ड रहेछन् । ज्यादै अस्थिर रहेछन् । सत्ता सहकर्मीलाई धोका दिने र आफ्नो सत्ता जोगाइराख्ने प्रचण्डको प्रवृत्ति घातक छ । प्रचण्डको चरम सत्तामोह र व्यक्तिगत स्वार्थको कारणले अहिले नयाँ समीकरण बन्यो । यो समीकरण पनि जुनसुकै बेला बदलिन सक्छ ।

एकीकृत समाजवादी पनि सरकारमा सहभागी भएको छ । यो सरकार कहिलेसम्म टिक्छ ?
एकीकृत समाजवादी एउटा परिस्थितिले सरकारमा गएको छ । तर, यो कुरा कसैलाई पनि मन परेको छैन । परिस्थिति मिल्यो भने हामी सरकारबाट जुनसुकै बेला पनि बाहिरिन सक्छौँ । सरकार बेठीक नियतका साथ बनेकाले यसको आयु लामो छैन । यद्यपि, हाम्रो पार्टी पनि सरकारमा छ । गलत जगमा बनेको सरकार भएको कारण अपार चुनौती छन् । थोरै मात्रै अवसर छ । यति ढुक्कले भन्न सकिन्छ– यो सरकारको आयु धेरै छैन । जोतिबेला पनि यो सरकार ढल्न सक्छ । प्रचण्डको नियतमै खोट छ । यो मनोविज्ञानले निर्माण भएको समीकरण भत्काउनै पर्छ ।

प्रधानमन्त्रीले यही ३० गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । तपाईँहरू विश्वासको मत दिनुहुन्छ कि दिनुहुन्न ?
संसदीय दलको बैठकमा विश्वासको मत दिने÷नदिने विषयमा गहन छलफल गरेर निष्कर्षमा पुग्छौँ । परिस्थिति हेरेर हामी निर्णयमा पुग्छौँ । प्रचण्डले विश्वासको मत पाएमा मुलुकले दुःख पाइराख्ने र प्रचण्डले आफ्नो अनुकूलतामा फेरि अर्को गठबन्धन बनाउने अवस्था बन्छ । अब मुलुकको राजनीतिक कोर्स नयाँ ढंगले अगाडि बढाउनुपर्छ । परिस्थिति परिपक्व भएपछि राजनीतिक कोर्स नयाँ ढंगले अगाडि बढ्छ ।

कांग्रेसले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव पनि गरेको थियो । वैकल्पिक गठबन्धन बन्ने सम्भावना पनि थियो । तर, एकीकृत समाजवादीले प्रधानमन्त्री छाडेर दुईवटा मन्त्रीलाई किन सरकारमा पठायो ?
अध्यक्षलाई धेरै विश्वास नलागेको पनि हुन सक्छ । हामी सरकारमा नगएपछि अर्को सत्ता समीकरण बन्छ भन्ने ग्यारेन्टी नभएर हामीले नयाँ स्टेप नचालेको हो । जुन दिन हामी प्रधानमन्त्री बन्ने सुनिश्चित हुन्छ, त्यो बेला हामी अर्को स्टेप चाल्छौँ ।

जसपा पनि सरकारमा सहभागी भइसकेको छ । अब त एकीकृत समाजवादी मात्रै बाहिरिएर पनि यो सरकार ढल्दैन नि ?
यसभन्दा अगाडि करिब सबै सांसदले प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका थिए । तर, प्रचण्ड आज विश्वासको मत लिन रुँदै हिँड्नुपर्ने अवस्थामा पुगेका छन् । भोलिको दिनमा परिस्थिति मिल्यो भने, जसपा मात्रै होइन, रास्वपा र एमाले पनि सरकारबाट बाहिरिन्छन् । सहयात्री दल बाहिरिनेभन्दा मूल नेतृत्व नै अरूलाई छाडेर हिँड्ने प्रवृत्ति प्रचण्डमा देखियो । यस्तो खेल धेरै समय चल्दैन । हामी परिस्थिति मिलाउँदै छौँ । प्रचण्डको यो अस्थिरता, कुर्सी मोहले राजनीतिक दलहरूप्रति जनता धेरै नेगेटिभ भएका छन् । नेताहरूले आफ्नो फाइदाको लागि जे पनि गर्न हुने, हामीले अनुशासनमा बसिराख्नुपर्ने भन्ने मनोविज्ञान जनतामा विकास हुँदै छ । हामीले राजनीतिक दल अनुशासित हुन्छन्, इमानदार हुन्छन्, सहमति कार्यान्वयन गर्छन् भन्ने कुरा स्थापित गर्नुपर्छ । हामी परिस्थिति हेर्दै छौँ ।

प्रचण्डप्रति कसरी अविश्वास बढ्यो ?
सहकार्य गर्दै जाँदा वास्तविक कुरा खुल्दै गयो । प्रचण्डलाई हामीले विश्वास गरेका थियौँ । १० वर्ष युद्ध लडेको, बलिदानी गर्न सक्ने, जनताको समस्या बुझ्ने, आँट, हिम्मत भएको नेताको रुपमा हामीले बुझेका थियौँ । तर, संगत गर्दै जाँदा प्रचण्डमा त चरम सत्ता मोहबाहेक त केही पनि देखिएन । प्रचण्डले जनताको विश्वसनीयता गुमाइसकेका छन् । प्रचण्डसँग हामी सँगसँगै अगाडि हिँड्यौँ भने यिनी आफू त डुब्ने नै भए, हामीलाई पनि डुबाउँछन् भन्ने ठाउँमा म पुगेको छ । मजस्तै एकीकृत समाजवादीका धेरै नेता–कार्यकर्ता त्यो ठाउँमा पुगेका छौँ । त्यस कारण नयाँ तरिकाले सोच्नुपर्ने भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच छलफल बाक्लिएको छ । एमालेसँग अब नजिकिएको हो ?
एमाले अध्यक्ष केपी ओली हिजोको दिनमा माधवकुमार नेपालको नाम लिएपछि मुख कुल्ला गर्छु भन्थे । अहिले ओली नेपाल निवास कोटेश्वर पुगेर अनुनयविनय गर्न थालेका छन् । यसलाई हामीले सरकार बनाउनका लागि ओली जे पनि गर्छन् वा ओली आफ्नो परीक्षण गर्ने तयारीमा छन् भन्ने रुपमा बुझ्नुपर्छ । यसलाई हामीले सकारात्मक रूपमै लिनुपर्छ । तर, त्यसमाथि शंका गर्नुपर्ने अवस्था अझै छ । हामी हिजो थुप्रै पटक धोकामा परेका छौँ ।

जबरजस्ती पार्टीबाट निकालिएका छौँ । पर्ख र हेरको नीतिमा हामी अगाडि बढ्छौँ । व्यवहार कस्तो हुन्छ, त्यसआधारमा हामी अगाडि बढ्छौँ । ओलीको झुक्याउने, छक्याउने प्रवृत्ति भएका कारण त्यसप्रति सतर्क हुँदै अगाडि बढ्छौँ । यदि, साँच्चै हिजोको कमजोरीबाट पाठ सिकेको हो भने परिस्थिति नयाँ ढंगले अगाडि बढ्छ । यदि, परिस्थिति मिलेन भने हामी हाम्रो पार्टीलाई एक्लै पनि अगाडि बढाउँछौँ । नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै अगाडि बढ्ने नीतिबाट हामी विमुल हुँदैनौँ ।

अब एकता एमाले, एकीकृत समाजवादी, माओवादी सबैको हुने हो कि पूर्वएमालेको मात्रै ?
यो त परिस्थितिले निर्धारण गर्ने कुरा हो । म आजै प्रचण्डबाहेक पूर्वएमाले वा एकीकृत समाजवादी र माओवादी मात्रै भन्ने तहमा छैन । हामीले समग्र वामपन्थीलाई एक ठाउँमा ल्याउने प्रयास गरेका छौँ । मिल्न सक्नेजति सबैसँग मिल्दै जाने र मिल्न नसक्ने वामपन्थी दलहरूसँग नियमित छलफल, बहस गर्ने हाम्रो रणनीति हो । चुनावमा मिल्न सकिन्छ भने वाम–लोकतान्त्रिक गठबन्धन पनि बनाउने ठाउँमा हामी पुगेका छौँ । हाम्रो मूल उद्देश्य वामपन्थीहरूको एउटा शक्ति बनोस् भन्ने नै हो । त्यसपछि आवश्यकताका आधारमा वाम–लोकतान्त्रिक शक्तिबीच सहकार्य हुने अवस्था पनि आउँछ ।

भनेपछि कांग्रेसलाई नबिच्काउने नीति हो ?
गत निर्वाचनमा हामी र कांग्रेस मिलेकै हो । अस्तिसम्म हामीले मिलेरै सरकार बनाएको हो । कुन बेला कसको आवश्यकता पर्छ भन्न सक्ने अवस्था छैन । त्यसैले कसैलाई नबिच्काउने, परिस्थितिअनुसार अगाडि बढ्ने हो । प्राथमिकताचाहिँ वामपन्थीहरूको मोर्चा बनाएर अगाडि जाने नै हो ।

वामपन्थीहरूको मोर्चा बनाउन त अहिलेको गठबन्धनले सघाउँछ नि होइन ?
देख्दा र सुन्दा दुवै कुरा धेरै महत्त्वपूर्ण छन् । तर, प्रचण्डको व्यवहारले के देखाउँछ भने, उनी आफ्नो फाइदाको लागि वामपन्थी एकता भन्छन । तर, सहकर्मीलाई धोका दिन्छन् । यसअघि, प्रचण्ड सरकार बनाउन स्वतन्त्र पार्टीलाई बोलाउन तयार भए, जनता समाजवादी पार्टीलाई बोलाउन तयार भए । राप्रपालाई पनि बोलाउन तयार भए । तर, प्रचण्डलाई साथ, सहयोग गर्ने माधवकुमार नेपाललाई बोलाउन तयार भएनन् । त्यसकारण वामपन्थी एकताको कुरा पनि प्रचण्डको ढोङ मात्रै त रहेछ । आफ्नो लागि जे पनि बोल्ने, जे पनि गर्ने तर, अरू वामपन्थीलाई प्राथमिकतामा नराख्ने प्रचण्ड प्रवृत्ति घातक छ । शंका गर्ने ठाउँ थुप्रै छन् ।

अब समाजवादी मोर्चाको औचित्य पनि सकिएको हो ?
प्रचण्ड आफ्नो अनुकुलतामा मात्रै चल्छन् । अनि प्रचण्डको लागि हामीले समाजवादी मोर्चा बनाइदिनुपर्ने ? एकीकृत समाजवादीले राष्ट्रिय सभामा दुई सिट मात्र लिएपछि अर्को एकजना मन्त्री थप पाउने कुरा थियो । आलोपालोमा प्रचण्डपछि माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने कुरा थियो । संवैधानिक निकायमा नियुक्ति गर्ने कुरा थियो । यी सबै कार्यान्वयन गर्नुपर्छ भनेर प्रचण्डले अर्को समीकरण बनाइदिए । उनी प्रधानमन्त्री हुन् । समाजवादी मोर्चाभित्रको सबैभन्दा ठूलो दलका अध्यक्ष पनि हुन् । मोर्चाबारे उनी कहिल्यै गम्भीर बन्नुनपर्ने तर, मोर्चाको नाममा अरू दलले उनको पछिपछि हिँडिदिनुपर्ने कुरा व्यवहारिक रुपमा पनि राम्रो हुँदैन । हामी यो विषयमा गम्भीर रुपमा छलफल गर्छौँ ।

यदि, सरकारबाट फर्किनुपर्याे भने एकीकृत समाजवादीका मन्त्रीले मान्नुहुन्छ त ?
नयाँ समीकरणमा पनि उहाँहरूलाई नै पटाइदिउँला नि । नयाँ सरकारमा पनि उहाँहरूले अहिलेकै मन्त्रालय सम्हाल्दा भइहाल्यो नि ।

बाह्य शक्तिको चलखेलको कुरा पनि सुनिन्छ । खासमा कहाँ के पाकिरहेको छ ?
प्रचण्डजस्तो अस्थिर मान्छेको कारणले मुलुक बरबाद भयो । राजनीतिक दलप्रति हेर्ने जनताको दृष्टिकोण बिग्रिएको छ । १५ महिनामा चारवटा सरकार बने । फेरि पटक–पटक समीकरण फेरिदा पनि प्रचण्ड आफैँ प्रधानमन्त्री भएका छन् । त्यसकारण प्रचण्डलाई जबसम्म हामी किनारा लगाउन सक्दैनौँ, त्यसबेलासम्म मुलुक अगाडि जान सक्दैन । यस्तै गोलचक्करमा मुलुक फसिरहन्छ ।

त्यसकारण स्थिर सरकार बनाएर अगाडि बढ्नुपर्छ । जे सहमति हुन्छ, त्यसको पालना गर्नुपर्छ । वामपन्थीको नाममा प्रचण्डको पछिपछि सती जान सकिँदैन । त्यसमा विदेशीको रुचि, चासो के छ भन्ने कुरा चाहिँ मलाईभन्दा बढी ओली र प्रचण्डलाई नै थाहा होला ।

कांग्रेस, एमाले र एकीकृत समाजवादी मिलेर स्थिर सरकार बनाउने कुरा हो ?
त्यो अवस्था पनि आउन सक्छ । तर, अहिले सबै कुरा नभनौँ । बोलेको कुरा पुर्याउने इमानदार गठबन्धनको पक्षमा हामी छौँ ।

आफ्नै पार्टी सहभागी सरकारबारे यसरी बोल्न मिल्छ ?
सरकार आफ्नो लयमा हिँडिरहेको बेला एक्कासि गठबन्धन परिवर्तन मिल्ने अनि हामीले बोल्न नमिल्ने भन्ने पनि हुन्छ र ? मन्त्री हेरफेर गरेर अगाडि बढ्ने कुरा गर्दागर्दै प्रचण्डले झन् विवादित व्यक्तिलाई मन्त्रालय दिनुभयो । रवि लामिछानेलाई गृह मन्त्रालय नै चाहिने किन ? गृहमन्त्री भएर आफूमाथि आइलागेको मुद्दाहरू राफसाफ गर्ने मनसायबाहेक अरू के हुन्छ ? तर, त्यस्तो चाहना हामी पूरा गर्न दिने छैनौँ ।

केही दिनअघिसम्म गठबन्धनमा सहभागी हुँदैनौँ भन्ने त्यो दल गृहमन्त्रीमा बार्गेनिङ गरेर सरकारमा गयो । प्रचण्डभन्दा पनि अस्थिर रहेछन् नि त रवि लामिछाने । अर्कोतर्फ, प्रचण्डसँग बदला लिन ओली हिसाबकिताब गरेर बसिरहेका छन् । साँवा मात्रै नभई ब्याज र हर्जानासमेत असुल्न ओली तयार छन् । हेर्दै जानु होला ।

यो सरकार ढालेर अब कस्तो सरकार बनाउने ?
वर्तमान सरकार ढाल्न र हाम्रो पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन हामी लागेका छौँ । यदि, अध्यक्ष नेपाल प्रधानमन्त्री नबने अवस्था रहे पनि प्रचण्डबाहेक जोसुकैलाई पनि प्रधानमन्त्री बनाउन हामी तयार छौँ ।

प्रचण्डसँग त्यत्रो रिस किन ?
हामीले स्थायित्व, विकास र समृद्धिका लागि गठबन्धनको पक्षमा जनतासँग भोट माग्यौँ । जनताले सरकार बनाउन आवश्यक मतसहित गठबन्धनका उम्मेदवारलाई जिताएर पठाएँ । तर, प्रचण्डले गठबन्धनलाई मात्रै होइन, आमजनतालाई नै धोका दिए । हाम्रो पार्टीका अध्यक्ष माधवकुमार नेपाल बिरामी भएर ओच्छानमा सुतिरहेको बेला थाहै नदिई प्रचण्डले अर्को गठबन्धन बनाए । यस्तो काम अहिले मात्रै भएको होइन । यसअघि पनि प्रचण्डको भूमिका यस्तै थियो । समाजवादी मोर्चामा हामी सँगै थियौँ । दुःख पर्दा हामीलाई खोज्ने अनि स्वार्थ मिलेपछि धोका दिने प्रवृत्ति हामीलाई स्वीकार्य छैन ।

प्रतिक्रिया दिनुहोस्