Logo
Logo

उदयपुरमा श्रमदान गरेर बाटो निर्माण


8.1k
Shares

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१ खसिबास गाउँबाट दक्षिण चुरे जङ्गल क्षेत्रमा झरनामुनि रहेको जगदेश्वरी महादेव गुफा पुग्न स्थानीयले जनश्रमदानबाटै बाटो निर्माण गरेका छन् । प्राकृतिकरूपमा गुफाको संरचना फरक र आकर्षक भए पनि प्रचार–प्रसारको अभाव र आवतजावतका लागि बाटो नभएका कारण सो स्थान ओझेलमा परेको थियो ।

खसिबास गाउँबाट गुफा पुग्न करिब दुई घण्टा पैदल हिँड्नुपर्छ । वनक्षेत्र र पहाडी जङ्गलका कारण समस्या भएपछि स्थानीयले श्रमदानबाट आवतजावत गर्न बाटो बनाएका हुन् । यसका लागि पञ्चावती मावि खसिबासका पूर्वप्रधानाध्यापक ज्ञानबहादुर तामाङले नेतृत्व लिएका थिए ।

जगदेश्वरी महादेव गुफा

्चालीसवर्ष शिक्षण पेसामा संलग्न भई अवकाश लिनुभएका उहाँलाई झण्डै तीन महिना जनश्रमदानका लागि स्थानीय लासाङ्ग तामाङसँगै स्थानीयवासीले सहयोग गरेका थिए । ‘दुई दाजुभाइ र गाउँलेले झण्डै तीन महिना बाटो खन्यौँ’, उनले भने, ‘आफ्नो ठाउँको मन्दिर ओझेलमा परेपछि यसको विकासका लागि आफैँ लागेर बाटो खनेका हौँ ।’

गाउँलेको श्रमदानबाट निर्माण गरिएको बाटोमा अहिले प्रधानमन्त्री रोजगार कार्यक्रममार्पmत पनि १० जनाले सय दिनको काम गरिरहेका छन् । कटारी–१ का वडाध्यक्ष पदमलाल मगरले भने, ‘उक्त गुफा नगरकै पर्यटनको सम्भावना बाकेको गुफा हो ।’

यहाँ पुग्नका लागि सिद्धिचरण राजमार्गको कटारी–२ स्थित गुराँस र कटारी–३ को हडैँयाबाट सवारीसाधनमा खसिबासको बाँगेबजारसम्म जानुपर्दछ । बाँगेबजारबाट भने पैदल हिँडेर यस गुफामा पुग्न सकिन्छ ।

अहिले खसिबास स्थानीयले पूर्वशिक्षक तामाङकै नेतृत्वमा श्रमदानबाट खसिबासबाट वडाकै वेलसोत जाने बाटो खनिरहेका छन् । जङ्गलको बीचमा रहेको गाउँबाट अन्यत्र जानसमेत समस्या भएपछि गाउँलेहरूले श्रमदानबाट बाटो बनाउन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्