Logo
Logo

एन्फाका सीइओ, उपाध्यक्षसहित १० जनालाई कारबाही गर्न निर्देशन



काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कारबाही गर्न आफू मातहतको निकायलाई निर्देशन दिएको छ ।

२०२६ मा हुने फिफा विश्वकप छनोट दोस्रो चरणअन्तर्गत बहराइनसँगको खेलका लागि एन्फाले खेलाडी र प्रशिक्षण टोलीबाहेक अतिरिक्त १० जना अनावश्यक व्यक्ति मलेसिया भ्रमणमा पठाएको भन्दै मन्त्रालयले कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएको हो ।

बहराइनसँगको खेलअगाडि नेपालले मलेसियासँग आगामी शुक्रबार मैत्रीपूर्ण खेल खेल्दै छ । सो क्रममा जम्बो मलेसिया पठाएपछि एन्फाले चौतर्फी आलोचना खेप्दै आएको छ । खेलकुद मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय खेलकुद ऐनविपरीत अनावश्यक व्यक्ति भ्रमणमा पठाएको भन्दै कारबाही गर्न आदेश दिएको हो ।

साथै खेलकुद मन्त्रालयले राखेपको स्वीकृतिपश्चात् मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता, गोष्ठी, तालिम, सेमिनार वा सम्मेलनमा भाग लिन जानुअगाडि वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न गृह मन्त्रालयलाई समेत अनुरोध गरेको छ ।

मलेसियाविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि पनि एन्फाले अनावश्यक रूपमा दुई जना विनोद डंगोल र मनीष तिम्सिनालाई गोलकिपर प्रशिक्षक तोकेको थियो । नेपाली टोलीको मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस हुन् ।

त्यसबाहेक टोलीका लागि आवश्यक पर्ने एक सहायक प्रशिक्षक, टिम व्यवस्थापक, फिजियो र किट व्यवस्थापक हुन् । सो जिम्मेवारीमा प्रवेश कटुवाल (प्रशिक्षक), उत्तमराज भण्डारी (टिम व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो) र ज्ञानबहादुर राई (किट व्यवस्थापक) छन् ।

तर, एन्फाले अनावश्यक रूपमा दीपक खतिवडा (टोली प्रमुख, एन्फा उपाध्यक्ष ), महेन्द्र क्षेत्री (एन्फा सदस्य), इन्द्रमान तुलाधर(सिइओ), जिल्ला सदस्यहरू भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ र सुविनकुमार श्रेष्ठलाई अनावश्यक रूपमा विदेश पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्