काठमाडौं । प्रतिनिधिसभा बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० पेस भएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती विधेयक पेस गरेका हुन् । यो विधेयक प्रतिनिधिसभामा गत फागुन २१ गते दर्ता भएको थियो ।

प्रतिनिधिसभा नियमावलीको नियम १०७ अनुसार अब यो विधेयक प्रतिनिधिसभाको अर्को बैठकमा छलफल हुन सक्नेछ ।
विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सभामा छलफल भएर अगाडि बढेपछि सांसदहरुले संशोधन दर्ता गर्न सक्छन् । सांसदहरुको संशोधनसमेत राखेर विधेयकमाथि दफावार छलफल हुनेछ ।
प्रदेश र स्थानीय सरकारमा कर्मचारी व्यवस्थापन गर्न यो विधेयक आवश्यक रहेको मन्त्री जोशीले बताए । राज्यको पुनर्संरचना सँगसँगै प्रशासनिक पुनर्संरचनाका लागि यो विधेयक ल्याउनुपरेको उनको भनाइ छ ।














