काठमाडौं । नेपाली कांग्रेसले रवि लामिछानेलाई गृहमन्त्री नमान्ने जनाएको छ । हालैमात्र सत्ताबाट बाहिरिएकाे कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई आज विधेयक पेश गर्न नदिने जनाएको हो ।
गृहमन्त्री लामिछाने आफैं सहकारी ठगी तथा दोहोरो राहदानी प्रकरणमा अनुसन्धानको दायरामा रहेको भन्दै कांग्रेसले संसदमा लगातार प्रधानमन्त्रीको जवाफ माग गरिरहेको छ । शुक्रबार आज बस्ने प्रतिनिधिसभाको बैठकमा गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने कार्यसूची रहेको छ । तर, कांग्रेसले लामिछानेलाई गृहमन्त्री मान्न नसकिने र विधेयक पेश गर्न नदिने तयारी गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले एमाले र रास्वपाले नै यसअघि छानबिनको दायरामा ल्याएको र प्रश्न उठेका व्यक्ति मन्त्रीमा रहन नहुने भन्दै गृहमन्त्री लामिछानेको सन्दर्भमा दोहोरो मापदण्ड देखाउन नमिल्ने बताएका छन् । उनले भने, ‘विवादित आचरणका व्यक्तिलाई कांगे्रेस गृहमन्त्र मान्न सक्दैन ।’
कांग्रेसले गृहमन्त्रीलाई विधेयक पेश गर्न नदिने तयारी गरेपछि सभामुखले प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।














