Logo
Logo
सुन प्रकरणः

तस्कर जोगाउन सीआईबी प्रमुख नै संलग्न, नेतृत्व फेरिने लगभग पक्का



काठमाडौं । सुन तस्कर जोगाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का उच्च अधिकारी नै संलग्न रहेको खुलेको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करीमा संलग्न रहेकाहरुलाई जोगाएको निष्कर्षसहित सीआईबी प्रमुख किरण बज्राचार्यलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हाे।

आयोगले सीआईबी प्रमुख बज्राचार्यसहित सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागिय कारबाही गर्न सिफारिस गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आयोगले तयार पारेको प्रतिवेदनआज बिहानै प्रधानमन्त्रीलाई बुझाएर विभागीय कारबाही स्वरुप एआईजी बज्राचार्यलाई सीआईबी प्रमुखको जिम्मेवारीबाट मुक्त गर्ने तयारी गरेका हुन् ।

त्यस्तै आयोगले अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलाई पनि विभागिय कारबाही गर्न सिफारिस गरेको छ । एआईजी बज्राचार्यले पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारी र पूर्वप्रहरी महानिरीक्षक तथा एमाले नेता सर्वेन्द्र खनाललाई उन्मुक्ति दिएको आयाेगको प्रतिवेदनमा उल्लेख छ ।

सुन तस्करीमा राजनीतिक, प्रशासनिक र सुरक्षा निकायका शक्तिशाली अधिकारीको जालो तोड्न माग गर्दै तत्कालीन प्रतिपक्षी एमाले र रास्वपाले गत साउनमा एक महिना संसद् अवरुद्ध गरेपछि पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको थियो । तर आयोगले सुन तस्करीमा माओवादी र एमालेका नेताहरूमाथि कारबाही नगरेको भन्दै प्रहरीमाथि प्रश्न गरेको छ ।

सुन तस्करसँग सोझै सम्पर्कमा रहेको भन्दै अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीलाई आयोगले दोषी मानेको छ । त्यस्तै अभियोजनमा त्रुटि गरेकामा काठमाडौंका जिल्ला न्यायाधिवक्ता जनकप्रसाद घिमिरे र वासुदेव शर्मालाई विभागीय कारबाही गर्न आयोगले सिफारिस गरेको छ ।

पूर्वसभामुख महरा र पूर्वप्रहरी महानिरीक्षक खनाल सुन तस्करीमा संलग्न रहेको बयान आए पनि उनीहरूमाथि सीआईबीले अनुसन्धान नगरेको नेपाल प्रहरी, गृह मन्त्रालय र आयोगका अधिकारीहरूको भनाइ छ ।

६१ किलो सुन तस्करीका अभियुक्त जीवन चलाउने र पूर्वआईजीपी खनालबीच कारोबारी सम्बन्ध रहेको सूचना पाए पनि सीआईबीले खनालमाथि अनुसन्धान गरेको थिएन । त्यतिमात्र होइन, चलाउने पक्राउ परेपछि उनले खनालको संलग्नताको विषयमा दिएको बयानको कागज च्यातेर उनलाई छाडिएको र पछि चलाउने नै फरार भएको प्रहरी अधिकारीहरूको भनाइ छ ।

चलाउनेलाई उम्काउन सहयोग गरेको विषय प्रतिवेदनमै उल्लेख भएपछि गृहमन्त्री लामिछाने आक्रामक रुपमा नेपाल प्रहरीको उच्च तहमा व्यापक जिम्मेवारी हेरफेरको तयारीमा रहेकाे स्राेतले बतायाे ।

प्रतिक्रिया दिनुहोस्