
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले सवारीसाधन दुर्घटना न्यूनीकरण गर्न दीर्घकालीन रणनीति बनाउन सरकारसमक्ष माग गरेका छन् ।
प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गम्भीर अध्ययन गरी रणनीतिका साथ ‘क्लालेन्डर’ बनाएर काम गर्न आग्रह गरे ।
सांसद किरातीले सवारी दुर्घटनाको मुख्य कारण पूर्वाधार पनि भएकाले यसबारे जनचेतना अभिवृद्धि गरिनुपर्नेमा खाँचो औँल्याए । साथै उनले उदयपुरमा बिहीबार भएको जिप दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराए । उनले दुर्घटनामा परी मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरे ।
धरानबाट भोजपुर जाने क्रममा उदयपुरको बेलका–७ मैनामैनीस्थित चेङ्ग्रे भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै नौ जना गम्भीर घाइते भएका थिए ।














