
काठमाडौं । कामको खोजिमा फागुनको महिना मात्र साढे ६५ हजार नेपालीले देश छाेडेका छन् । वैदैशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन २०८० मा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।
योसँगै चालु आर्थिक वर्ष (आव) २०८०/८१ आठ महिनामा नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ७१ हजार २ सय १० पुगेको छ । नेपालबाट हरेक दिन औसत २ हजार नेपाली काम खोज्दै विदेशिन्छन् ।
फागुनमा काम खोज्दै विदेशिनेमध्ये ६ हजार ७ सय ६८ महिला छन् । पछिल्लो तीन महिनायता लगातार ६० हजारभन्दा माथिको संख्यामा नेपाली विदेशिएको तथ्यांकमा देखिन्छ । फागुन २०८० मा काम खोज्दै विदेशिने नेपाली अघिल्लो वर्ष सोही महिनाको तुलनामा केही बढी हो ।














