काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा सुधार गर्न निर्देशन दिएका छन् ।
आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र मन्त्रालयको सूचना प्रविधि परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रवारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिन सकिने गरी प्रणालीको सुधार गर्न निर्देशन दिएका हुन् ।

वैदेशिक रोजगारीको काम कारबाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको हो । तर, प्रणालीमा समय–समयमा समस्या आउने गरेपछि श्रमिकहरू समस्यामा पर्ने गरेका छन् ।
प्रणालीमा आउने समस्याका कारण श्रमिकले समयमा नै श्रम स्वीकृति नपाउँदा थप आर्थिक भार खेप्नु परेको छ । यसै समस्यालाई समाधान गर्न मन्त्री अर्यालले फेमिस प्रणालीमा तत्काल सुधार गर्न निर्देशन दिएका हुन् ।














