
कैलाली । आगलागीका कारण बन्द गरिएको कर्णाली नदीमाथिको पुल सोमबार (आज)देखि खुलाइएको छ । आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुलमा सवारी आवागमन खुलाइएको नेपालगन्जस्थित सडक डिभिजन कार्यालयका इन्जिनियर नीरज शाक्यले बताए ।
उनले भने, ‘पुलको अवस्थाका बारेमा हामीले स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने भएकाले आजदेखि यातायातका साधन सञ्चालनको अनुमति दिएका छौँ ।’
गएको सोमबार पुलमाथि ट्रकमा आगो लागेको थियो । गुडिरहेको ट्रकमा लागेको आगो पुलका १४ सहारा लट्ठामा लाग्दा केही क्षति भएको थियो । विज्ञ टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो । रासस














