
काठमाडौं । नेकपा एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । १ चैतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशन सोमबार राति अध्यक्षसहितका सबै पदाधिकारी सर्वसम्मत चयन गर्दै सकिएको हो ।
अध्यक्षमा अहिलेकै कार्यबाहक अध्यक्ष लक्ष्मी बुढा सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा जनकराज अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा अध्यक्षका आकांक्षी अशोक चन्द र राजीव खड्का चयन भएका छन् ।
पदाधिकारीले पार्टी अध्यक्ष ओलीको अगाडी राति नै पद तथा गोपनीयताको शपथ लिए । चैत १ गते सुरू भएको नवौं जिल्ला अधिवेशनमा अध्यक्ष मण्डलले सोमबार पदाधिकारीमा सर्वसम्मत घोषणा गर्ने तयारी गरेपछि सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर चन्दले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए ।
चन्दले अधिवेशन प्रतिनिधिको भावना विपरीत सर्वसम्मतिको नाममा विधि, विधान मिचिएकाले तालाबन्दी गरिएको बताएका थिए । चन्द अघिल्लो कार्यकालमा सर्वाधिक मत ल्याएर उपसचिवमा निर्वाचित भएका थिए । चन्दलाई उपाध्यक्ष बनाउनुपर्ने मागकाबीच अघिल्लो अधिवेशनमा जिल्ला कमिटी सदस्यमा हारेका अवस्थीलाई बनाइएको भन्दै विरोध भएको थियो ।














