
काठमाडौं । सत्ता सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने समय सरेको छ । यसअघि सत्ता साझेदार दलहरूले तयार पारेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने समय बिहान १० बजे तय भएको थियो ।
तर, सत्तामा सहभागी दल एमाले अध्यक्ष केपी शर्मा ओली उपत्यका बाहिर रहेकाले साझा कार्यक्रम दिउँसो २ बजेका लागि सारिएको प्रधानमन्त्री सचिवालयका प्रेस संयोजक गोविन्द आर्चायले बताए ।
ओली दुई बजे अघि काठमाडौं आइपुग्ने जनाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दुई–दुई जना नेता सदस्य रहेको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा शीर्षनेताले अध्ययनपछि आज बिहाना सार्वजनिक गर्ने तयारी गरिएको थियो ।
गत फागुन २१ सत्ता साझेदार दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, नेकपा (माओवादी केन्द्र)बाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी थिए ।
कार्यदलमा जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल थिए ।














