
काठमाडौं । नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनमा पेस गर्ने ‘दस्ताबेज मस्यौदा समिति’को बैठक आजबाट सुरु हुँदैछ । मंगलबार बिहान ११ बजेबाट सुरु भई चार दिनसम्म चल्ने बैठकमा दस्ताबेजलाई अन्तिम रुप दिइने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
समाजवादीको दसौं महाधिवेशन आगामी जेठ पहिलो साता हुँदैछ । फागुन १७ गते बसेको सो पार्टीको सचिवालय बैठकले महाधिवेशनमा समसामयिक राजनीतिक, विधान र संगठानिक विषय समेटेर चार जना नेतालाई फरक फरक विषयमा दस्ताबेज लेख्न जिम्मेवारी दिएको थियो । फरक फरक शीर्षकमा दस्ताबेज लेखिए पनि महाधिवेशनमा सबैलाई समेटेर एउटै मात्र दस्ताबेज प्रस्तुत गर्ने सो पार्टीको निर्णय थियो ।
जसअन्तर्गत अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दस्ताबेज, सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष डा बेदुराम भुसालले पार्टी विधान र महासचिव घनश्याम भुसाललाई सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्नेगरी जिम्मेवारी बाँडफाँड गरिएको थियो ।
चैत १ गते बसेको दस्ताबेज मस्यौदा समितिको बैठकमा नेता झलनाथ खनालको प्रतिवेदन पेस भएको थियो । बाँकी नेताहरूले आजको बैठकमा आआफ्नो प्रतिवेदन पेस गर्ने र त्यसमा मस्यौदा समितिका २७ जनाकै सुझाव समेटेर अन्तिम रूप दिने तयारी भएको छ ।














