Logo
Logo

दुर्गा प्रसाईंसँग बन्दुकको लाइसेन्स, गृहले सबै जिल्ला प्रशासनसँग माग्यो हतियारको विवरण



काठमाडौं । गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

सोमबार सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईका दुईजना सहयोगीहरू इजाजत लिइएका हतियारसहित पक्राउ परेपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

गृहले हालसम्म इजाजत दिइएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो ।

हतियार तथा खरखजना ऐन २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेको छ । त्यहीअनुसार मन्त्रालयले हालसम्मको इजाजत दिइएका हतियारको विवरण पठाउन पत्राचार गरेको हो ।

‘हालसम्म हातहतियार तथा खरखजनाको इजाजतपत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा संख्यासहित नवीकरण भएरनभएको विवरण, त्यस्ता हातहतियार इजाजत विपरीत प्रयोग भएरनभएको विवरण र विना इजाजत प्रयोग गरिएको, नवीकरण नगरिएको र उद्देश्यविपरीत प्रयोग गरिएका कारण त्यस्ता हतियार बरामद गरिएकोसमेत खुलाई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र उपलब्ध गराइदिनु हुन आदेशानुसार अनुरोध छ’, गृहले गरेको परिपत्रमा भनिएको छ ।

सोमबार ब्यवसायी दुर्गा प्रसाईंका सुरक्षागार्ड सर्वोच्च अदालत परिसरमा अत्याधुनिक हतियारसहित पक्राउ परेका थिए । प्रहरीले हातहतियारसहित प्रसाईंका सुरक्षागार्ड दीपक खड्का र रामकुमार धिमाललाई नियन्त्रणमा लिएको थियो ।

खड्काको साथबाट प्रहरीले एचके ५३ हतियार नियन्त्रणमा लिएको थियो । सोमबार सर्वोच्च अदालतमा प्रसाईंको मुद्दाको सुनुवाइ भइरहेको थियो । त्यही क्रममा हातहतियारसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले सिंहदरबार वृत्तमा राखेको छ ।

धिमालको साथबाट हतियारसहित १०० राउण्ड गोली, म्यागजिन र दुईवटा मोबाइल बरामद भएका थिए । उनीहरूविरुद्ध हातहतियार तथा खरखजाना ऐन, २०१९ अनुसार प्रहरीले कारबाही अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्