Logo
Logo

इलाम साहित्य महोत्सव चैत तेस्रो साता



मङ्गलबारे । नेपाल र भारतका साहित्यकारको उपस्थितिमा इलाम साहित्य महोत्सवको तेस्रो संस्करण हुने भएको छ । महोत्सव यही चैत १६ र १७ गते हुने भएको हो । इलाम नगरपालिकाअन्तर्गतको साहित्य, कला, सङ्गीत प्रतिष्ठानको आयोजना र इलाम साहित्य समाजको संयोजनमा साहित्य महोत्सव हुने जनाइएको छ ।

साहित्यका माध्यमबाट इलामको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजकको भनाइ छ । कार्यक्रममा साहित्यसँगै पर्यटन र राजनीतिक बहससमेत हुने भएको छ । महोत्सवको उद्घाटन चैत १६ गते नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गर्ने कार्यक्रम तय भएको छ । पहिलो दिनको मुख्य सम्भाषणमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उपस्थिति रहने बताइएको छ ।

‘सङ्घीयता : यस्तै वा कस्तो’ विषयमा नवीना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीबीच बहस हुनेछ । सोपछि सोझो गाउँले, सुन्दर कुरूप र सुमिनाको कविता शीर्षकमा बहस हुने जनाइएको छ । महोत्सवको पहिलो दिन नै डा अरुण गुप्ता र राजन मुकारुङको ‘मिथकदेखि मिथकसम्म’ विषयमा बहस हुने जनाइएको छ ।

‘आख्यान : अन्तिम पात र नयाँ पालुवा’ विषयमा नारायण ढकाल र वसन्त बस्नेतबीचको बहस हुने जनाइएको छ । त्यस्तै ‘पोइट्री इन मुभमेन्ट’मा राजा पुनियानीको प्रस्तुति रहने साहित्य कला साहित्य, कला, सङ्गीत प्रतिष्ठानका संयोजक प्रकाश थाम्सुहाङले जानकारी दिए । उनका अनुसार ‘बदलिँदो विश्वः फेरिँदो स्थानीयता’ विषयमा रोहेज खतिवडा, धर्मेन्द्र नेम्वाङ र रञ्जित तामाङबीच बहस हुनेछ । ‘चारखोलका रङ्गमञ्च’मा सुरेश पोर्तेल र चेतन आङ्थुपोबीच बहस हुने बताइएको छ ।

दोस्रो दिन अर्थात् चैत १७ गते ‘कविताका स्वर’ शीर्षकमा गद्य कविता वाचन हुनेछन् । दशवटा कविता प्रस्तुत हुने इलाम साहित्य समाजका संयोजक सुरेन्द्र राईले बताउनुभयो । ‘छन्द सुगन्ध’ शीर्षकमा कविता वाचनसमेत सोही दिन हुनेछ ।

सोनाम भुटिया र दीपेन्द्र कर्णबीच ‘संरक्षण र पर्यापर्यटनका कुरा’ शीर्षकमा बहस हुने छ । ‘मातृभाषाको सकस’ शीर्षकमा सुरेश किरण, चन्द्र किशोर र गौरी तमुबीच बहस सञ्चालन हुने जनाइएको छ । अभि सुवेदीका साथमा ‘उमेरको कथा’ विषयमा दीपक सापकोटासँगको संवाद हुने र सोपश्चात ‘सिनेमा’ शीर्षकमा केकी अधिकारी, मीन भाम र रामबाबु गुरुङबीच बहस सञ्चालन हुने जनाइएको छ ।

‘अक्षर मोह : अक्षर यात्रा’ शीर्षकमा शैलेन्द्र अधिकारी, शङ्कर तिवारी र टीका आत्रेयबीच कुराकानी हुनेछ । ‘सीमा साहित्य र संस्कृति’ शीर्षकमा डा कविता लामा, गणेश खनिया र दीपक लुङ्गेलीबीच संवाद हुने छ । ‘प्रतिरोधी साहित्य’ शीर्षकमा डा ज्ञानेन्द्र खतिवडा, विक्रम हथवार (कर्नाटक) र डा अस्मिता विष्टबीच बहस सञ्चालन गरिने छ ।

‘कस्तो राजनीति’ शीर्षकमा डा सिके राउत, प्रदीप ज्ञवाली र विश्वप्रकाश शर्माबीच बहस हुने जनाइएको छ । अन्तिम दिन गजल साँझ सञ्चालन हुनेछ । त्यसमा छनोट गरेर ११ गजल प्रस्तुत गरिने छन् । सोही दिन साहित्य महोत्सव समापन हुने जनाइएको छ । महोत्सवमा पेन्टिङ गर्ने कलाकारको समेत उपस्थिति रहने जनाइएको छ ।

व्यावसायिक कम्पनीका प्रतिनिधिबीच समेत इलामको चर्चा गर्ने कार्यक्रम तय भएको छ । भारत र नेपालका साहित्यकारको बाक्लो उपस्थिति रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रम समापनका लागि रु १८ लाख ८० हजार खर्च हुने अनुमान गरिएको छ । साथै इलाम साहित्य महोत्सवको यो तेस्रो संस्करण हो । यसअघि २०७६ सालमा इलाम साहित्य महोत्सव भएको थियो ।

प्रतिक्रिया दिनुहोस्