काठमाडौं । काठमाडौं महानगरपालिका–८ स्थित नवाली टोलमा सार्वजनिक जग्गामा बनाइएको घर भत्काइएको छ । करिब १ तलाको घर सोही वडा कार्यलयकाे निगरानीमा नगर प्रहरीसहित स्काभेटरले घर भत्काइएको हो ।

वडाले घरको हकदावी गर्ने व्यक्ति कोही भए २४ घण्टा भित्र स–प्रमाण उपस्थित हुन सूचना निकालेको थियो । तर कोही पनि व्यक्ति घरको हककर्ता प्रमाणसहित नआएपछि घर भत्काएको वडा अध्यक्ष आशामान संगतले बताए ।
उनले वडा भित्र रहेका सार्वजनिक सम्पत्तिहरूको उत्खननसँगै कानुन मिचेर निर्माण गरेका घर टहराहरू भत्काउने कार्य तिव्र रूपमा अगाडि बढाइएको बताए ।
उक्त घर करिब २ आना जग्गामा बनेको छ । स्थानीयका अनुसार त्यो घरमा १ बुढी आमा बस्दै आएका थिए । उनको मृत्यु भएपछि हकदावी गर्ने कोही नभएको र सार्वजनिक जग्गा खाली गराउने उद्देश्यले घर भत्काइएको अध्यक्ष संगतले बताए ।
यहाँको वडाले पशुपति क्षेत्रका कुवा, इनार, पोखरी लगायतका मासिएका परम्परागत वस्तुहरूको खोजी तथा उत्खनन गर्दै आएको छ ।














