काठमाडौं । ललितपुरस्थित श्री ज्येष्ठ वर्ण महाविहारको नयाँ भवनको उद्घाटन गरिएको छ । नेपालको सांस्कृतिक सम्पदा क्षेत्रका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान परियोजना अन्तर्गत भवन निर्माण गरिएको थियो ।
२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको ज्येष्ठ वर्ण महाविहारको भारत सरकारले उपलब्ध गराएको १३.७८ करोड रुपैयाँ अनुदानमा भवन पुनर्निर्माण भएको हो भने नेपाल सरकार सहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले परियोजनाको कार्यान्वयन गरेको थियो ।

भवनको नेपाल सरकार सहरी विकास मन्त्रालयका माननीय मन्त्री धन बहादुर बुढा र नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले शुक्रवार संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा ललितपुर विकास समाजका अध्यक्ष बुद्घिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाता इन्टेकका प्रतिनिधिका साथै नेपाल सरकार र भारतीय दूतावासका अधिकारीहरूको उपस्थिति थियो ।
कार्यक्रममा नेपाल सरकार सहरी विकास मन्त्रालयका माननीय मन्त्री धन बहादुर बुढाले भूकम्पपछिको पुनर्निर्माणमा भारतले गरेको सहयोग र नेपालको आर्थिक विकासमा चालेको प्रयास निक्कै प्रशंसा योग्य भएको बताए ।
उनले नेपाल र भारतको ऐतिहासिक सांस्कृतिक समानता र सम्पदा भावी पुस्ताका लागि संरक्षण गर्न आवश्यक रहेको भन्दै यस्ता सम्पदा क्षेत्रहरूको पुनर्स्थापना गर्न साझा प्रयास रहेको बताए । मन्त्री बुढाले दुई देशबिचको मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउन निरन्तर जागरूक रहने बताए ।
यस्तै नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले भारत र नेपालबिचको विकास सहकार्यका विभिन्न पक्षबारे चर्चा गरे । उनले दुई देशबिचको द्विपक्षीय साझेदारी र सहकार्य महत्त्वपूर्ण पक्षको रुपमा रहेको उल्लेख गरे ।
भारत सरकारले नेपालका ७ जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदा स्थलको संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ । यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी आवास, ८ जिल्लामा ७१ वटा शैक्षिक संस्था तथा १० वटा जिल्लामा १ सय ३२ स्वास्थ्य संस्थाको पुनर्निर्माणका लागि सहयोग गरेको छ ।
यो परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारले गरेको प्रयासमा टेवा पुर्याएको सरोकारवालाको भनाइ छ ।














