काठमाडौं । होली पर्वलाई मध्यनजर गरी जिल्ला प्रहरी परिसर काठमाडौँलेले सुरक्षा व्यवस्था बलियो बनाउने भएको छ । आइतबार पहाड र सोमबार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदै छ । प्रहरीले होली पर्वको अवसरमा देशै भरी सुरक्षा व्यवस्था कडा बनाएको बताएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले होली पर्व आम नेपालीहरूको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रूपमा मनाउन अनुरोध गरेका छन् ।
प्रहरीले विगत भन्दा यस वर्ष सुरक्षा व्यवस्था बलियो बनाएको बताएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिहरूलाई संयुक्त रूपमा परिचालन गरी काठमाडौंका ९० भन्दा बढी स्थानमा चेकिङ हुने उपरीक्षक खत्रीले बताए ।
घटना हुन सक्ने सम्भावित स्थान र भिडभाड हुने ठाउँहरूमा ड्रोनबाट निगरानी गर्ने तयारी भएको उनले बताए । खत्रीले राजधानीको सुरक्षा व्यवस्थाको सन्दर्भमा सभ्य, सुरक्षित र व्यवस्थित बनाइ सद्भावपूर्ण र उल्लासमय ढङ्गले होली मनाउन सुरक्षा प्रबन्ध मिलाएको बताए ।














