
चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार प्रयासरत रहेको बताएका छन् । आज पत्रकारहरुसँग कुरा गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरिरहेको बताएका हुन् ।
उनले भने, ‘सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएको छ । सहमति कार्यान्वयनमा आउँछ ।’ देशभरिका सहकारीपीडितको समस्या समाधान गरिने उनको भनाइ थियो । गृहमन्त्री लामिछानेले सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्ने बताए ।
सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीवि राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उनले बताए । सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिलेनै सार्वजनिक गर्न नहुने भन्दै उनले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे ।
सरकारले गरेका कामको नतिजा पूर्णरुपमा आउने उनको भनाइ थियो । उनले भने, ‘काहीँ कतै कसैलाई कानुनले जे भन्छ त्यही गर्ने हो । निर्दोष नफसोस् दोषी नउम्यिोस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ । त्यहीअनुसार काम हुन्छ ।’ प्रक्रियामा केही जटिलता भए पनि नतिजा आउने गरी काम गर्ने उनले बताए ।














