Logo
Logo

सुन तस्कर जोगाउने प्रहरीलाई कारबाही गर्न नयाँ समिति गठन



काठमाडौं । गृह मन्त्रालयले सुन तस्करी प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गरेको आरोपमा कारबाही सिफारिस भएका प्रहरीलाई कारबाही गर्न अर्को समिति बनाएको छ ।

गृहले सहसचिवको नेतृत्वमा कारबाही सिफारिस भएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि थप छानबिन र कारबाहीका लागि नयाँ समिति बनाएको हो ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको छ । समितिमा रिजालसँगै नेपाल प्रहरीका डीआईजी भीमप्रसाद ढकाल र गृह मन्त्रालयकै प्रहरी प्रशासन शाखाका उपसचिव रामबहादुर शाही छन् ।

रिजाल नेतृत्वको समितिले उच्चस्तरीय सुन तस्करी जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययन गरेर कसलाई के कारबाही गर्ने भन्ने सिफारिस गर्ने प्रवक्ता भट्टराईले बताए । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगले १ चैतमा गृह एवम् उपप्रधानमन्त्री रवि लामिछानेलाई ४८५ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनमा सीआईबीका चार प्रहरी अधिकृतलाई विभागीय कारबाहीका लागि सिफारिस गर्नुका साथै अनुसन्धानमा खटिएका सबै प्रहरीहरुको सरुवा गर्नुपर्ने उल्लेख गरेको थियो । जसअनुसार विभागीय कारबाहीका लागि सिफारिस भएका चारै जनालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा सरुवा समेत गरिएको छ ।

उनीहरुले सुन तस्करीका मुख्य अभियुक्त जीवन चलाउनले बयान गराएर पनि भगाएको आरोप छ । सीआईबीमै गएर बयान दिएका व्यक्ति चलाउनेलाई भगाएकोदेखि कृष्णबहादुर महरालाई समेत उन्मुक्ति दिएर गम्भीर गल्ती गरेको आयोगले औंल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्