काठमाडौं । होली मनाएर रङ्ग पखाल्ने उद्देश्यसहित सुनकोसी नदीमा पौडी खेल्ने गएका ३ जना बालबालिका बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा त्रियुगा नगरपालिका–१४ का ८ वर्षीय चोकलचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीय रेखा मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाले जानकारी दिए ।

उनीहरू त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने ठाउँबाट बेपत्ता भएका हुन् । होली खेलेपछि रङ्ग पखाल्ने र पौडी खेल्न भन्दै उनीहरू सुनकोसी नदीमा पुगेका थिए ।
बेपत्ताहरूको खोजी सुरु गरिएको एसपी थापाले बताए । अहिले सशस्त्र प्रहरीको टोलीसमेत परिचालन गरिएको छ । उनीहरूसँगै गएका अन्य ४ बालबालिका भने घर फर्किसकेका छन् ।














