
काठमाडौं । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । आज सोमबार बिहान ११ बजेका लागि बोलाएको परिषद् बैठक चैत १८ गते ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो ।
बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन । बैठकले लामो समयदेखि रिक्त रहेको महालेखा परीक्षक नियुक्त गर्न सिफारिस गर्ने बुझिएको छ । गत जेठमा टंकमणी शर्मा दंगालको कार्यविधि सकिएपछि उक्त पद रिक्त रहेको छ । संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरू संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति गर्ने व्यवस्था छ ।
परिषद् सदस्य रहने सभामुख स्विजरल्याण्ड भ्रमणमा रहेकाले बैठक स्थगित भएको हुनसक्ने बुझिएको छ । प्रधानमन्त्री परिषद्को अध्यक्ष रहने व्यवस्था छ भने प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।














