Logo
Logo

इलाम-२ उपनिर्वाचन: गठबन्धन दलभित्रै प्रतिस्पर्धा, कसको उम्मेदवार को ?



काठमाडौं । आगामी वैशाख १५ गते मुलुकका दुई स्थानमा उपनिर्वाचन हुँदै छ । प्रतिनिधिसभातर्फ इलाम निर्वाचन क्षेत्र-२ र प्रदेशसभातर्फ बझाङको निर्वाचन क्षेत्र-१ को (क) मा उपनिर्वाचन हुन लागेको हो । 

एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते र कांग्रेसबाट निर्वाचित प्रदेश सांसद पृथ्वीबहादुर सिंहको गत असार २५ मा निधन भएपछि यी ठाउँहरूमा रिक्त भएको थियो  । 

यी दुई निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी चासो र चर्चाको केन्द्र बनेको छ, इलाम-२ । उपनिर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूले तयारी तीव्र थालेका छन् । इलामको उपनिर्वाचनलाई प्रमुख राजनीतिक दलहरूले प्रतिष्ठाको विषय नै बनाएका छन् ।

दलका लागि जनमत परीक्षण गर्ने अवसरसमेत भएकाले यस उपनिर्वाचनलाई मुख्य गरी नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिष्ठाको विषय बनाएका हुन् । उपनिर्वाचनको लागि केही दलहरूले उम्मेदवार टुङ्गो लगाइसकेपनि केही दलहरू आन्तरिक छलफलमा जुटेका छन् । 

एमालेमा वंशवाद   
एमालेले पार्टी उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । 

सुवासले इमाल–२ मा २०५६ सालदेखि जित्दै आएका थिए । २४ वर्षदेखिको प्रभाव र पकड कायम राख्नुपर्ने जिम्मेवारी सुहाङको काँधमा आएको छ । तर, सुहाङलाई टिकट दिएपछि एमालेभित्र असन्तुष्टि बढेको छ । 

सुवासका कारण साढे दुई दशकसम्म अवसर नपाएकाहरूले यसपटक विद्रोह गर्ने सम्भावना छ । एमालेकै एक समूह नेताहरू सुहाङलाई टिकट दिन हुँदैन भनेर कस्सिएर लागेका पनि थिए । अर्कोतिर कोसीमा एमालेलाई पहिचान विरोधीको ट्याग लागेको छ । जसले एमालेलाई  धक्का लाग्ने देखिन्छ । 

कांग्रेसको छैन उम्मेदवारको टुंगो 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले इलाम–२ को लागि अहिलेसम्म उम्मेदवार टुङ्गो लगाइसकेको छैन । कांग्रेस कोशीले इलाम उपनिर्वाचनका लागि सम्भावित ७ उम्मेदवारका नाम केन्द्रीय कार्यालय सानेपा पठाएको छ । प्रदेशले पठाएको उम्मेदवारमध्ये को उम्मेदवार बलियो भनेर कांग्रेस आन्तरिक छलफल गरिरहेको छ । कांग्रेसले उम्मेदवार तय गर्नुअघि प्राइमरी इलेक्सन गर्न अहिले सम्भव नभए पनि आन्तरिक रूपमा ’लोकप्रिय उम्मेदवार’ खोजी गरेको जनाएको छ । 

माओवादीले आफ्नै उम्मेदवार उठाउने 
सत्तारुढ दल माओवादी केन्द्रले इलाम–२ उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ । बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ–१ मा पार्टीको तर्फबाटै उम्मेदवारी दिने निर्णय गरेको हो ।

माओवादी उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपनि उम्मेदवार भने टुङ्गो लगाइसकेको छैन । अर्को बैठकबाट उम्मेदवार टुङ्गो लगाउने माओवादीले जनाएको छ ।

मिलनलाई उठाउने रास्वपाको तयारी 
गत संसदीय निर्वाचनबाट चौथो शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार मिलन लिम्बूलाई उठाउने तयारी गरेको छ । स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारमा खटिइसकेका मिलनलाई रास्वपाले पार्टीमा ल्याएर उम्मेदवारी बनाउन लागेको हो । 

रास्वपाले यसको औपचारिक घोषणा भने आगामी १७ गते गर्नेछ । उपनिर्वाचनको उम्मेदवार घोषणा गर्न रास्वपाका सभापति रवि लामिछाने इलाम–२ जाने छन् । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का महसचिव र दृष्टि न्यूज डटकमका सम्पादक रहेका मिलन युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने मुख्य मुद्दासहित पत्रकार लिम्बू चुनावी मैदानमा होमिएका छन् ।

उनले धर्मगुरु आत्मानन्द लिङ्देनको आशीर्वाद पनि लिइसकेका छन् । धर्मगुरुको लिङ्देनको पोल्टामा कम्तीमा ५ हजार भोट रहने बताइन्छ । 

एकीकृत समाजवादीको उम्मेदवार जीतबहादुर
अर्का सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले पनि इलाम–२ को उम्मेदवारको टंगो लगाइसकेको छ । एकीकृत समाजवादीले उपनिर्वाचनमा जीतबहादुर राईलाई उठाउने निर्णय गरेको छ । उनी एकीकृत समाजवादी इलामका सचिवालय सदस्य हुन् । 

अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा माइजोगमाई गाँउपालिका अध्यक्ष बनेका राई गत निर्वाचनमा भने पालिका अध्यक्षमै पराजित भएका थिए । यससँगै उपनिर्वाचनमा सत्ता गठबन्धनभित्र मित्रवत् प्रतिस्पर्धा हुने देखिएको छ । 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवार चयनका लागि आन्तरिक तयारी गरिरहेको छ । यता, पहिचानवादीले डेकेन्द्रसिंह थेगिमलाई साझा उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । 

पहिचानको प्रमुख मुद्दा बोकेर निर्वाचनमा होमिएका डकेन्द्रसिंह थेगिम प्रदेश नामाङ्कनको विषयलाई लिएर कोसीमा आन्दोलनरत ‘प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ को तर्फबाट साझा उम्मेदवार खडा भएका छन् । 

प्रतिक्रिया दिनुहोस्