Logo
Logo

रास्वपाले इलाममा पनि चितवन र तनहुँको नतिजा दोहोर्‍याउँला ? 



काठमाडौं । गत संसदीय निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १५ गते तय भएको इलाम–२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । 

नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको  गत भदौ २६ गते निधन भएपछि इलाम–२ मा उपनिर्वाचन हुन लागेको हो । उक्त उपनिर्वाचनमा भूगोल, मतदाताको मनोविज्ञान र एमालेको उम्मेदवार चयन लगायतलाई विचार गरेर रास्वपा मिलनलाई अघि सार्ने निष्कर्षमा पुगेको हो । 

इलाम–२ मा एमालेले पार्टी उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ ।   तर, सुहाङलाई टिकट दिएपछि एमालेभित्र असन्तुष्टि बढेको छ । 

सुवासका कारण साढे दुई दशकसम्म अवसर नपाएकाहरूले यसपटक विद्रोह गर्ने सम्भावना छ । एमालेकै एक समूह नेताहरू सुहाङलाई टिकट दिन हुँदैन भनेर कस्सिएर लागेका पनि थिए । अर्कोतिर कोसीमा एमालेलाई पहिचान विरोधीको ट्याग लागेको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले इलाम–२ को लागि अहिलेसम्म उम्मेदवार टुङ्गो लगाइसकेको छैन । कांग्रेस कोसीले इलाम उपनिर्वाचनका लागि सम्भावित ७ उम्मेदवारका नाम केन्द्रीय कार्यालय सानेपा पठाएको छ । प्रदेशले पठाएको उम्मेदवारमध्ये को उम्मेदवार बलियो भनेर कांग्रेस आन्तरिक छलफल गरिरहेको छ ।

सत्तारुढ दल माओवादी केन्द्रले इलाम–२ उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ । तर,

उम्मेदवार भने टुङ्गो लगाइसकेको छैन । त्यस्तै अर्का सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले पनि इलाम–२ को उम्मेदवारको टुंगो लगाइसकेको छ । एकीकृत समाजवादीले उपनिर्वाचनमा जीतबहादुर राईलाई उठाउने निर्णय गरेको छ ।

 उनी एकीकृत समाजवादी इलामका सचिवालय सदस्य हुन् । अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा माइजोगमाई गाउँपालिका अध्यक्ष बनेका राई गत निर्वाचनमा भने पालिका अध्यक्षमै पराजित भएका थिए ।

इलाम–२ को उपनिर्वाचनलाई विशेषतः एमाले, कांग्रेस र रास्वपाले प्रतिष्ठाको विषय बनाएका छन् । इलाम–२  मा पनि चितवन– २ र तनहुँ– १ को जस्तै जित निकाल्ने रास्वपाको रणनीति छ । 

गृहमन्त्री समेत रहेको रास्वपा सभापति रवि लामिछानेको नागरिकता निष्क्रिय, रामचन्द्र पौडेल राष्ट्रपतिमा र  रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त भएको चितवन–२ र तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन भएको थियो । उक्त उपनिर्वाचनमा  चितवन र तनहुँमा रास्वपाका उम्मेदवार विजयी भएका थिए । 

इलाम–२ कै स्थायी बासिन्दा मिलनले  अहिले निर्वाचन क्षेत्र पुगिसकेका छन् । उनले घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन् । इलामको माक्सेबुङमा बसोबास गर्दै आएका धर्मगुरु आत्मानन्द लिङ्देनको पनि उनले आशीर्वाद लिइसकेका छन् । 

तर, गत वर्षको निर्वाचनमा रास्वपाले पाएको समानुपातिक मत विश्लेषण गर्दा रास्वपालाई त्यति सजिलो भने छैन । २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा सबैभन्दा धेरै नेकपा (एमाले)ले २६ हजार पाँच सय ६२ मत पाएको थियो । 

त्यसपछि नेपाली कांग्रेसले २२ हजार तीन सय ३३, माओवादी केन्द्रले पाँच हजार एक सय ५३, रास्वपाले चार हजार छ सय ६८, मङ्गोल नेशनल अर्गनाइजेशनले एक हजार छ सय ६१, राष्ट्रिय जनमुक्ति पार्टीले एक हजार चार सय १३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक हजार तीन सय २९, राष्ट्रिय प्रजातन्त्र पार्टी एक हजार एक सय ९१ र जनता समाजवादी पार्टीले नौ सय छ मत प्राप्त गरेको थियो ।

पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएको र संगठन नै नभएको इलाम–२ मा रास्वपाले चार हजार बढी भोट ल्याउनुलाई  अप्रत्याशित मानिएको छ । इलाम–२ मा पनि तनहुँ–१ मा जस्तै अप्रत्याशित जित निकाल्ने रास्वपाको रणनीति छ ।

तनहुँ– १ बाट निर्वाचन सांसद रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै गत वैशाखमा उपनिर्वाचन भएको थियो । उक्त उपनिर्वाचनमा नेपाली कांग्रेसमा डा. स्वर्णिम वाग्लेलाई भित्र्याएर रास्वपाले उम्मेदवार बनाएको थियो ।

उक्त निर्वाचनमा तत्कालीन सत्ता गठबन्धन (कांग्रेस–माओवादी) र एमाले रास्वपालाई आफ्नो प्रतिस्पर्धी नै मानेका थिएनन् । तर, कांग्रेसमा उम्मेदवार गोविन्द भट्टराई र एमाले उम्मेदवार सर्वेन्द्र खनाललाई भारी मतान्तरले पराजित गर्दै वाग्ले विजयी भएका थिए ।

वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा कांग्रेसका भट्टराईले २० हजार १ सय २२ र एमाले उम्मेदवार खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका थिए । ०८४ मा बहुमत ल्याउने रणनीति बनाएको रास्वपाले इलाम– २ लाई पनि प्रतिष्ठाको विषय बनाएको छ । 

प्रतिक्रिया दिनुहोस्